PahiloPost

Apr 20, 2026 | ७ बैशाख २०८३

लेखनाथ प्रतिभा पुरस्कार त्रिपाठीलाई



पहिलोपोस्ट

काठमाडौँ : कविशिरोमणि लेखनाथ पौड्यालको स्मृतिमा स्थापित ‘लेखनाथ प्रतिभा पुरस्कार’ बालकृष्ण त्रिपाठीलाई प्रदान गरिएको छ।
 
त्रिवि केन्द्रीय नेपाली विभागबाट स्नातकोत्तर परीक्षामा सर्वोत्कृष्ट त्रिपाठीलाई रु १५ हजार राशिसहित सो पुरस्कार दिइएको हो। नेपाली शिक्षा परिषद्ले कविशिरोमणि पौड्यालको १३३ औं जन्मजयन्तीका अवसरमा शु्क्रबार गरेको कार्यक्रममा राष्ट्रकवि माधवप्रसाद घिमिरेले पुरस्कार प्रदान गर्दै पौड्यालको छन्द कविताको प्रेरणाले आफूले कविता लेख्न सुरु गरेको बताए।
 
त्रिमूर्ति निकेतनमा लेखनाथ जयन्ती
कविशिरोमणि पौड्यालको जन्मजयन्तीका अवसरमा सञ्चारग्रामस्थित लेखनाथ पौड्याल, नाटयसम्राट् बालकृष्ण सम र महाकवि लक्ष्मीप्रसाद देवकोटाका पूर्णकदको सालिकमा माल्यार्पण गरिएको छ।
 
त्रिमूर्ति निकेतनद्वारा आयोजित सो कार्यक्रममा निकेतनका अध्यक्ष इन्दिरा प्रसार्इं र सदस्यसचिव नरेन्द्रराज प्रसाईं, लेखनाथ पौड्याल काव्यसभाका संयोजक प्रा राजेन्द्र सुवेदी, बालकृष्ण सम फाउन्डेसनका संयोजक मदनदास श्रेष्ठ लगायतले त्रिमूर्ति (कविशिरोमणि, नाटयसम्राट् र महाकवि) ले देखाएको बाटामा हिँड्नु नै त्रिमूर्तिप्रतिको सच्चा श्रद्धाञ्जली रहेको बताए।
 
कविशिरोमणिको जन्म १९४१ साल पुस १५ गते कास्कीको अर्घौंअर्चलेमा भएको थियो। २००८ असार २९ गते पौडयाललाई राजा त्रिभुवनद्वारा कविशिरोमणिको पदवी र मासिक रु दुई सय आजीवन भत्ता प्रदान गरिएको थियो।
 
२०११ मा पौडयालकै शुभजन्मोत्सवका उपलक्ष्यमा काठमाडौँमा रथयात्रा गरिएको थियो। उनका दुई दर्जनजति कृति प्रकाशित छन्। पौड्याललाई मरणोपरान्त २०२६ सालमा त्रिभुवन प्रज्ञापुरस्कार प्रदान गरिएको थियो। २०२२ को शिवरात्रि अर्थात् फागुन ७ गते पौड्यालको देहावसान भएको थियो।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell