PahiloPost

Apr 19, 2025 | ६ बैशाख २०८२

पूर्वमा अघोषित सिन्डिकेट, ढुवानी भाडा दोब्बर बढे पनि प्रशासन मौन



पहिलोपोस्ट

पूर्वमा अघोषित सिन्डिकेट, ढुवानी भाडा दोब्बर बढे पनि प्रशासन मौन

  • अनन्तराज न्यौपाने
विराटनगर : यातायात व्यवसायीले पूर्वाञ्चल क्षेत्रमा अघोषित सिन्डिकेट कायम गर्दै ढुवानी भाडा दोब्बर बनाएका छन्। डेढ महिनादेखि व्यवसायीले आलोपालो प्रणाली कायम गर्दै ढुवानी भाडा दोब्बर बनाएका हुन्।
 
डेढ महिना १८ हजार भाडा रहेको भाडा बढेर २८ पुगेको छ। पश्चिम नेपालमा जरा गाडेको ढुवानी सिन्डिकेट पूर्वमा पनि भित्रिएपछि उद्यमी आक्रोशित भएका छन्।
 
‘हामी अहिलेसम्म यो रोगबाट मुक्त थियौं। तर रोग पूर्वाञ्चलमा समेत देखियो,' मोरङ व्यापार संघका अध्यक्ष पवनकुमार शारडाले भने, 'ढुवानी सिन्डिकेट रोक्न प्रहरी र प्रशासन गुहारे पनि कुनै सुनुवाइ भएन।' उनका अनुसार आलोपालो प्रणाली थालेर ढुवानी व्यवसायीले अघोषित सिन्डिकेट थालेका छन्।
 
अध्यक्ष शारडाका अनुसार अघोषित सिन्डिकेट प्रणालीका कारण ढुवानी भाडामा अप्रत्याशित वृद्धि भएको छ । ‘डेढ महिनाअघिसम्म विराटनगरबाट काठमाडौंमा खाद्यान्न पठाउनुपर्‍यो भने प्रति किलोग्राम एक रुपैयाँ ८० पैसा भाडा थियो,' उनले भने, 'अहिले बढेर दुई रुपैयाँ ८० पैसा पुगेको छ।'
 
एक ट्रकमा १० मेट्रिक टन हुन्छ। पहिला एक ट्रक खाद्यान्न काठमाडौं पुयाउँदा १८ हजार खर्च लाग्थ्यो भने अब २८ हजार पुगेको छ। बढी मूल्यको अन्तिम भार उपभोक्तालार्इ नै पर्छ। उद्योगी शारडाले उपभोक्तामा पर्ने अतिरिक्त भार रोक्न प्रशासनको सक्रियता बढाउन आवश्यक भएको बताए।
 

इनरुवामा सिन्डिकेटको पूर्जी

स्रोतका अनुसार इनरुवामा सञ्चालित एक धर्म काँटामा यातायात व्यवसायीका प्रतिनिधिले ट्रकहरूलाई सिन्डिकेटको पूर्जी दिन्छन्। मेची र कोसी अञ्चलमा माल लिएर आइरहेका कुनै पनि ट्रकका चालकले उक्त धर्मकाँटामा गएर पूर्जी लिनु अनिवार्य गरिएको छ।
 
सिन्डिकेटको पूर्जी लिएर आएका ट्रकहरूले मालसामान अनलोड गर्नेबित्तिकै तत्काल अर्को माल लोड गरेर कतै लैजान पाउँदैनन्। उनीहरूले दुई दिन पर्खनैपर्छ र तेस्रो दिनमात्र पालो आउँछ। प्रतिस्पर्धात्मक व्यापारविपरीत आलोपालो प्रणाली कायम गरेर एकाधिकार जमाउँदा पूर्वाञ्चलको व्यवसायलार्इ गम्भीर असर गर्ने व्यवसायी बताउँछन्।
 
‘बजारमा पचासौँ ट्रक सामान बोक्न तयार छन्। तर ट्रक व्यवसायीको संगठनले कारवाही गर्ने डरले सामान बोक्न डराएका छन्,' शारडाले भने।
 
यातायात व्यवसायीले भने पूर्वमा सिन्डिकेट प्रणाली नभएको दाबी गर्दै दुर्घटनालाई न्युनीकरण गर्न मालबाहक ट्रकको व्यवस्थापन मात्र गरिएको बताएका छन्।
 
विराटनगर ट्रान्सपोर्ट एसोसिएसनका अध्यक्ष सुशील जोशी भने धेरै ट्रकहरू एकै पटक सहरमा भित्रिएकोले एक दिन पालो कुर्नुपरेको बताउँछन्। उनका अनुसार बजारमा ट्रक नभए लोड अनलोड गर्न रोकिएको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell