
जुम्ला : काठमाडौंमा स्वास्थ्य सुधारका नयाँ नयाँ योजना घोषणा भइरहेका छन्, उता कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको अवस्थाले भने ती योजनालाई गिज्याई रहेछ।
एक-डेढ महिना हैन, आठ महिना भयो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल पदाधिकारी विहीन भएको। न उप कुलपति छन्, न रजिष्ट्रार र अस्पताल निर्देशक।
जेठमा प्रतिष्ठानका उप–कुलपति डा पारसकुमार आचार्यको अवधि सकिएपछि नयाँ नियुक्ती भएको छैन। अस्पताल निर्देशक डाक्टर जावेद अहमेद खानले प्रतिष्ठान छोडेको सात महिना कटिसक्यो। रजिष्ट्रार श्याम लम्सालको साउनमा कार्यकाल सकियो।
निमित्त उप–कुलपति डा धर्मराज श्रेष्ठका अनुसार प्रशासनिक काम चलाउन पनि हम्मे छ अहिले।
' आर्थिक सम्बन्धी ठूला काममा समस्या छ । पदाधिकारीका विषयमा बारम्बार कुरा उठाउँदा त्यसको सुनुवाई नै गरिँदैन र राजनीतिक भागबण्डाले पनि समस्या बनाएको छ ।'
सरकारले पदाधिकारी एक हप्ताभित्र नियुक्ति गरेर पठाउने भनेको धेरै बितेको र अहिलेसम्म प्रतिष्ठान पदाधिकारी विहीन नै भएको निमित्त मेडिकल डाइरेक्टर डा प्रवीणकुमार गिरीले बताए।
प्रतिष्ठान नेतृत्व विहीन हुनुले प्रशासनिकसहित शैक्षिक, प्राज्ञिक र व्यवस्थापकीय क्षेत्रमा समस्या आएको प्रशासकीय अधिकृत द्वन्द्वबहादुर शाहीले बताए। रासस
तस्विर : www.nepalihealth.com