
काठमाडौं : ‘प्रधानमन्त्री के गरेर बसिरहनुभएको छ, पाँच महिना वितिसक्यो खोई त निर्वाचन विधेयक अघि बढेको ? एमालेले संसद अवरुद्ध गर्दा काम गर्न पाईएन भन्नुभएको हो भने, संशोधन विधेयक त मंसिर १४ गते दर्ता भएको हो नि, कि प्रधानमन्त्री प्रचण्ड ब्ल्याक लेबल खाएर सुत्नुभएको छ ?’
राजनीतिक अवस्थाबारे विष्लेषण गर्नेक्रममा नेकपा एमालेका सचिव प्रदिप ज्ञवाली एकाएक प्रधानमन्त्री प्रचण्डप्रति आक्रोशित भए।
सत्ताधारी दल र प्रमुख प्रतिपक्षीदलको अडानका कारण एक महिनादेखी अवरुद्ध संसद खुलाउने उपायबारे राजनीतिक विमर्शका गर्न उनीसँगै नेपाली कांग्रेस, माओवादी केन्द्र र मधेसी मोर्चाका नेता एकै मञ्चमा थिए।
रिर्पोटर्स क्लवमा आयोजित कार्यक्रममा उनले आफ्नो पार्टी निर्वाचन सम्बन्धी विधेयक अगाडि बढाउन तयार रहेको तर सरकारले काम नगरेको दावी गरेका थिए ।
वर्तमान सरकारले प्रदेशको सिमाङकन चलाउने प्रयास गरे द्धन्द्ध बढाएको भन्दै उनले सरकारले केही काम नगरेको दावी गर्दै प्रचण्डलाई प्रश्न गरे‘ कि प्रधानमन्त्री प्रचण्ड ब्ल्याक लेबल खाएर सुत्नुभएको छ ?’
सिमाङकन प्रस्ताव थाँती राखे संसद खुल्छ
ज्ञवालीले संसद खुलाउन सिमाङकनको विषय छाड्नुपर्ने नयाँ सर्त समेत सार्वजनिक गरेका थिए। संविधान संशोधन प्रस्तावबारे छलफल अगाडि बढाउन र मतदान प्रकृयाबाट टुंग्याउनका लागी संशोधन प्रस्तावमा उल्लेख रहेको प्रदेशको सिमांकनको विषयलाई थाँती राख्नुपर्ने सर्त सार्वजनिक गर्दै नागरिकता, भाषा र राष्ट्रिय सभाको प्रतिनिधित्वको विषयमा संसदमा छलफल गर्न तयार रहेको बताएका हुन् ।‘सिमाङकनको विषय थाँती राखेर अगाडि बढ्ने हो भने बाँकी तीन वटा विषयमा संसदमा छलफल गर्न र भोटिङ्बाट आएको परिणाम स्विकार गर्न एमाले तयार छ’ रिर्पोटर्स क्लवको कार्यक्रममा उनले भने ।
प्रदेशको सिमांकन संशोधन संघीयताको सिद्धान्त र संविधान विपरित भएको उनको तर्क थियो। पहाड र मधेशलाई अलग गर्ने काम स्विकार्य हुन नसक्ने अडान राख्दै उनले सरकारका कारण पछिल्लो समय संघीयताविरोधी जनमत बढिरहेको दावी समेत गरे ।
एमालेको अवरोधको बावजुदपनि संशोधन विधेयक अघि बढाउने भनेर सत्तारुढ दलले धम्क्याएको भन्दै उनले भने ‘ पेलेरै जाने कुरा नगरे हुन्छ ।’
ज्ञवालीले धम्की नदिन भने पनि कार्यक्रममा सहभागी सत्तारुढ दल कांग्रेस नेता एनपी साउदले संविधान संशोधन विधेयक पारित हुने र एमालेले सहयोग गर्ने ठोकुवा गरे।
‘सरकारले बलपुर्वक प्रस्ताव पेश गर्न चाहेको भए यतिका दिन कुर्दैनथ्यो,’ उनले भने‘ प्रतिपक्षी दललाई समेत विश्वासमा लिएर अघि बढ्न चाहेको छ, र अहिलेपनि प्रयत्न गरिरहेको छ।’
साउदले यसो भनिरहँदा सत्तारुढ माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझीले ज्ञवालीलाई साथ दिदै संशोधन विधेयक कुनै हालतमा पारित नहुने घोषणा गरे ।
उनले ज्ञवालीलेझै संशोधन विधेयक संघीयताको मर्म र भावना विपरित रहेको बताए। उनले एमाले मात्रै नभई सरकारमा रहेको आफु पनि विरोधमा रहेकाले विधेयक पास हुन नसक्ने बताए।
मधेशी मोर्चाका नेता एवम् नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिल झाले कार्यक्रममा भने ‘ एमालेको सहयोगमा प्रस्ताव पारित हन्ुछ, एमालेले सहयोग गरे हामी पनि लचिलो हुन्छौं।’
तस्विर :www.arthatantra.com