PahiloPost

Apr 20, 2026 | ७ बैशाख २०८३

​हिमपात नभएपनि कर्णालीमा चिसो अध्याधिक बढ्यो



पहिलोपोस्ट

जुम्ला : कर्णाली क्षेत्रका पाँच जिल्लामा कालीकोटका माथिल्लो भेकसहित हुम्ला, मुगु, डोल्पा र जुम्लामा बढ्दै गएको अत्यधिक जाडोका कारण जनजीवन कष्टकर बन्दै गएको छ। 

मङ्सिर १५ देखि पुस १५ गतेसम्म हिमपात भइसक्नुपर्ने मौसमी अनुमान गरिए पनि हिउँ पर्न सकेको छैन, तर जाडो अत्यधिक बढिरहेको छ। 

हावापानी फिल्ड कार्यालय जुम्लाका कार्यालय प्रमुख एपी चौरसियाका अनुसार जाडोले जुम्लाको न्यूनतम तापक्रम माइनस ५.५ डिग्री सेन्टिग्रेडसम्म पुगेको छ।
यही पुस १५ गतेसम्म हिउँपर्ने भनिए पनि जलवायुका कारण ढिलो भएको र अब जनवरी पहिलो सातासम्म हिमपात हुने अनुमान गरिएको कार्यालय प्रमुख चौरसियाले बताए। जाडोले गर्दा यहाँका नागरिकको विशेषतः बिहान र बेलुकाको जनजीवन निकै कष्टकर बन्दै गएको छ। 

जाडोको बढी प्रभाव यहाँका ज्येष्ठ नागरिक, अशक्त अपाङ्ग, महिला, बालबालिका र गरिब परिवारमा परेको छ । जाडोले दम, निमोनिया, रुघाखोकीका बिरामी पनि बढ्दै गएका छन् । यो समस्या अहिले कर्णालीभरि नै छ । हुनेखानेहरुबाट व्यापार व्यवसायीलाई कमाइ राम्रै भए पनि गरिबका लागि यो मौसम ज्यानमारा बन्दै गएको कुडारी–४ का स्थानीय कालो कामीले दुखेसो पोखे। 

न्यून तापक्रमका कारण अफसेट, प्रिन्टर, फ्याक्स, फोटोकपी मेसिनले सहजै काम गर्न छाडेका छन् । धारा भाँचिने, पाइप फुट्ने, समस्याले गर्दा खानेपानीको सङ्कट पर्दै गएको चन्दननाथ–७ का स्थानीयवासी सम्झना महतले बताइन। 

हिमपात नहुँदा हिउँदेबाली सुक्दै गएको कुडारी–३ का स्थानीय कृषक नरबहादुर रावतले बताए। पुस दोस्रो सातासम्म पनि हिमपात नहुँदा स्थानीय किसान चिन्तित हुँदै गएका छन्। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell