PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

काकाको ​गालीबाट बच्न निकालेको आइडियाले प्रहरी हिरासत पुर्‍यायो



सविन ढकाल

काकाको ​गालीबाट बच्न निकालेको आइडियाले प्रहरी हिरासत पुर्‍यायो

काठमाडौं : काका मलाई बचाउनुहोस् । मलाई तीन जना केटाले अपहरण गरेर बालजुको बनियाँटार पुर्‌‍याए ।

१५ बर्षिय भतिज राजनको मोवाइल नम्वरबाट आएको फोनले रंजित मर्हजन आत्तिए। उनले दोहोरो कुरा गर्ने प्रयास सफल नहुँदै फोन काटियो ।
कसैसँग दुश्मनी थिएन। कसैले धम्क्याएको पनि हैन। एक्कासी आइलागेको विपत्तीको सामना गर्न प्रहरीको सहयोग लिने बाहेक तत्काल अर्को विकल्प पनि थिएन ।

महर्जन परिवारले प्रहरीको कन्ट्रोल रुमको सय नम्वरमा फोन गरेर जानकारी दिए राजनको अपहरण भयो,बाँनियाटार पूर्‍याए रे ।

महानगरीय प्रहरी आयुक्त कार्यालयले तत्काल महानगरीय प्रहरी बृत्तमा जानकारी गरायो। दिउसै १५ वर्षको किशोरको अपहरण भएको सूचना लगत्तै बालाजु वृत्तबाट राजनको खोजीमा प्रहरी खटियो।

केहि घण्टाको प्रयासमा प्रहरीले राजनलाई अपहरणमुक्त गर्दै अपहरणमा संलग्न रहेको आरोपमा विश्वास शेरचन, दिपक पुन र देवान गौचनलाई पक्राउ गर्‌‍यो।

शुक्रवार मध्यान्ह भएको यो घटनाबारे सोधपुछमा जे खुल्यो त्यसले घटना मोडियो । प्रहरी छक्क पर्‌‌‍यो।

न राजन अपहरणमा परेका थिए, न पक्राउ परेका तीन जना अपहरणकारी नै निस्किए। अपहरणमा परेका भनिएका र अपहरणकर्ता देखिएका चारै जना घनिष्ट मित्र निस्किए।

भएछ के !

शुक्रवार सार्वजनिक विदा भएकाले राजन मध्यान्ह मनमैजु माथिको उत्तिस घा“रीमा साथीसँगै गएका थिए। उत्तिसघारी जानुको उदेश्य थियो गाँजा तान्ने।


उत्तिसघारीमा पुगेर एक जनाले गाँजा निकालेर छान्न थाले । अर्कोले गोल्डफ्याक चुरोटको सूर्ती झारेर गाँजासँग मिसाउन थाले।

एक राउण्ड चारै जनाले मिलेर गाँजा ताने। दोस्रो राउण्डका लागी गाँजा बनाउँदा बनाउँदै राजनको काका आइपुगे।  उनी हतार हतार साथीको पछी लागे र बाइकमा बसे । अर्को २ जना स्कुटीमा हुँइकिए र बाँनियाटार पुगे । अब के भन्ने त्यही बस्दाबस्दै उनको दिमागमा अपहरणको आइडिया फूर्यो र काकालाई फोन गरे।

बृत्तका डिएसपी सन्तोष तामाङका अनुसार प्रारम्भिक अनुसन्धानमा अपहरण नाटक भएको खुलेपछि आइन्दा यस्तो नगर्ने कागज गराएर नियन्त्रणमा लिइएका तीनै जनालाई मुक्त गरिसकेको छ ।
 
 
 
 
 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell