PahiloPost

Apr 19, 2025 | ६ बैशाख २०८२

प्रचण्ड-ओली गोप्य छलफलले सग्लिएन सम्बन्ध



पहिलोपोस्ट

प्रचण्ड-ओली गोप्य छलफलले सग्लिएन सम्बन्ध

काठमाडौं : संसदमा संविधान संशोधन प्रस्ताव पेश गर्ने सत्तापक्षको तयारी र जसरी पनि रोक्ने प्रतिपक्षको रणनीतिकाविच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीविच गोप्य भेट भएको छ। आइतबार विहान भएको भेट दुबैपक्षले गोप्य राख्ने प्रयास गरे पनि बेलुकासम्ममा सार्वजनिक भयो नै।

संसदमा जारी गतिरोध खुलाउने वातावरण बनाउने भएको भेटमा दुबै नेता एक्लाएक्लै बसेर छलफल गरेका थिए । दुबैविच भएको छलफलका विषय सार्वजनिक नभए पनि आइतबारनै आएको एमाले अध्यक्ष ओलीको अपिल, सत्तापक्षका नेताका अभिब्यक्तिले छलफल सकारात्मक भएको देखाएन।

प्रधानमन्त्री प्रचण्डलाई भेट्न आइतबार विहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका सञ्चारकर्मीलाई माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुषालले प्रधानमन्त्री महत्वपूर्ण काममा ब्यस्त भएको बताउँदै ओली र प्रचण्डविचको छलफल संकेत गरेकी थिइन्। उनले कस्तो काममा ब्यस्त भएको नखुलाए पनि स‌ंविधान संशोधनबारे जारी राजनीतिक गतिरोधसँग सम्बन्धित विषय भएको संकेत गरेकी थिइन्।

राससले जनाए अनुसार भेटमा प्रचण्डले व्यवस्थापिका–संसद्मा दर्ता भएको संविधान संशोधन प्रस्ताव अघि बढाउन सहयोग मागेका थिए।
सोमबार सदनमा संशोधन प्रक्रिया अगाडि बढाउने तयारी गरेको भन्दै संसद् अवरोध हटाउन उनले ओलीलाई आग्रह गरे पनि जवाफमा ओलीले संशोधन प्रस्ताव देश हितविपरित रहेको भन्दै निर्वाचनसम्बन्धी विधेयक अगाडि बढाए मात्रै सहयोग हुने जवाफ दिएका थिए।

वार्तामा ठोस सहमति नभए पनि केही विषयमा सहमति नजिक पुगेको तथा सोमबार सरकार र प्रतिपक्षीबीच संसद्मा असहज स्थिति निम्त्याउन नहुनेमा दुवै नेता एकमत भएको बताइएको छ।

आइतबारनै एमाले अध्यक्ष ओलीले अपिल जारी गरेर संविधान संशोधनके विरोधमा प्रदर्शनमा उत्रिन आव्हान गर्नुले दुबै नेताविचको छलफल सकारात्मक नभएको संकेत गर्छ ।

दुबैपक्ष मुठभेडको मुडमा

प्रधानमन्त्री निवासमा सञ्चारकर्मीसँगको कुराकानीमा माओवादी नेता भुषालले सरकारले सोमबार संसदमा संविधान संशोधन प्रस्ताव पेश हुने बताएकी थिइन् । उनले प्रधानमन्त्री वातावरण बनाउन सक्रिय रहेको र नतिजा सकारात्मक आउनसक्ने दावी गरे पनि वार्तापछी त्यसमा सहभागी ओलीको अभिब्यक्तिले वातावरण थप बिग्रिएको संकेत गर्यो ।

प्रचण्डसँगको भेटपछिनै ओलीले संविधान संशोधन प्रस्ताव के-के आधारमा देशघाती हो भन्दै अपिल जारी गरे । एमाले स्कुल विभागले ललितपुरमा आयोजित कार्यक्रममा उनले देशमा महाभारतको स्थिति खडा गरिँदैछ भन्दै कार्यक्रममा सहभागि बुद्धिजीवीहरुलाई विचारको माध्यमबाट राष्ट्रियताको लडाई लड्न आग्रह गरेका थिए।

आइतबारनै एमालेसहित संविधान संशोधन विधेयकको विपक्षमा रहेका दलका सचेतकको बैठक बसेर सरकारले जवर्जस्ती विधेयक अगाडि बढाउने प्रयास गरे वेल घेर्ने रणनीति बनाएका छन्।

दोस्रो तहका नेता सक्रिय

शीर्ष नेताबीचको छलफल सकारात्मक हुन नसकेपछि दोस्रो चरणमा  माओवादी केन्द्र र एमालेका दोस्रो तहका नेताबीच छलफल भएको थियो। दोस्रो तहका नेताबीचको छलफल निर्वाचनका बारेमा सकारात्मक भए पनि संसद गतिरोध खुलाउने विषयमा निष्कर्षमा पुग्न सकेन।

जानकारस्रोतका अनुसार साेमबार स‌ंसद बैठक शुरु हुनु अगाडि पुन प्रचण्ड,ओलीसँगै शेरबहादुर देउवासहितको बैठक राख्ने तयारी छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell