नवलपरासी : नवलपरासीमा जिल्ला अनुगमन तथा मूल्याङ्कन समितिले अवैधरुपमा भइरहेको खोलाजन्य वस्तुको कारोबारलाई नियन्त्रण गर्ने अभियान चलाएको छ।
केही साता अघि नवलपरासीको केरुङखोला आसपासका क्षेत्रबाट नियम विपरीत करिब रु १५ करोड बराबरको खोलाजन्य वस्तु ढुङ्गा, गिट्टी र बालुवा समितिको टोलीले नियन्त्रणमा लिएको थियो।
नियम विपरीत हुँदै गएका कार्य तत्काल बन्द गरी जिल्लामा राजस्व सङ्कलन अभिवृद्धि गर्ने उद्देश्यले सो कार्य अघि बढाइएको समितिका सदस्य सचिव एवम् स्थानीय विकास अधिकारी जिवलाल भुसालले बताए।
सो क्रममा बरामद भएका खोलाजन्य वस्तु बोक्न प्रयोग भएका करिब २६ वटा टिपर र तीन वटा जेसीबी नियन्त्रणमा लिएर रु ६५ करोड लाख जरिवाना गरिएको छ । आव २०७१÷०७२ मा केरुङ खोलाबाट खोलाजन्य वस्तु ढुङ्गा, गिट्टी र बालुवा तोकिएको मात्रामा निकाल्नका लागि भनेर स्मृति निमार्ण सेवाले करिब रु पाँच करोडमा ठेक्का लिएको थियो।
तर सो कम्पनीले नियम विपरीत लामो समयसम्म चुरे क्षेत्रमा उत्खनन गरी राखिएको करिब रु १५ करोड बराबरका खोलाजन्य वस्तु ढुङ्गा, गिट्टी र बालुवा समितिले सवारीसाधनसहित नियन्त्रणमा लिएको हो ।
नवलपरासीमा करिब एक दर्जन ठूला खोलानाला रहँदै आएका छन् । जसबाट जिल्ला विकास समितिले वार्षिकरुपमा करिब रु १० करोड बराबरको राजस्व सङ्कलन गर्ने गर्दछ । रासस