
काठमाडौँ : चौथो साफ महिला च्याम्पियनसिप अन्तर्गत पहिलो सेमिफाइनल खेलमा आज नेपालले चिरपरिचित प्रतिद्वन्द्वी भारतसँग खेल्दैछ।
भारतको सिलगुढीस्थित कञ्चनजङ्घा रङ्गशालामा नेपाली समयअनुसार दिउँसो सबा २ बजे नेपाल र भारतको खेल हुनेछ।
साफ च्याम्पियनसिपमा पहिलो पटक सेमिफाइनलमै भभड्न लागेका नेपाल र भारतका प्रशिक्षकले समेत यस खेललाई फाइनल सरह नै भएको बताएका छन्। त्यसैले नेपाल र भारतबीचको सेमिफाइनल रोमाञ्चक हुने अपेक्षा गर्न सकिन्छ।
नेपाल समूह 'ए' को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो भने भारत समूह बी को उपविजेताका रुपमा सेमिफाइनलमा पुगेको हो। नेपालले पहिलो खेलमा भुटानलाई ८–०, को दोस्रो खेलमा माल्दिभ्सलाई ९–० तथा तेस्रो खेलमा श्रीलङ्कालाई १–० ले पराजित गरेको थियो।
यता भारतले पहिलो खेलमा अफगानिस्तानलाई ५-१ ले पराजित गरेको थियो भने दोस्रो खेलमा बंगलादेशसँग गोलरहित बराबरी खेलेको थियो। बंगलादेशसँग गोल अन्तरमा पछि पर्दै भारतले उपविजेता बनेको हो।
दुई वर्षअघि पाकिस्तानमा भएको तेस्रो साफ महिला च्यापियनसिपमा नेपाल फाइनलमा भारतसँग पराजित भएको थियो। यस्तै गत वर्ष भारतमै भएको दक्षिण एसियाली खेलकुदको महिला फुटबलको स्वर्ण पदकको खेलमा पनि नेपाल भारतसँगै हारेको थियो।
सोमबार नै हुने अर्को सेमिफाइनल समूह बी को विजेता बङ्गलादेश र समूह ए को उपविजेता माल्दिभ्सबीच खेल हुनेछ।