PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

औ‍पचारिकतामै टुंगियो तीन दलको बैठक, ओली भन्छन्- 'संसदमा हाम्रो कुनै रणनीति छैन'



पहिलोपोस्ट

औ‍पचारिकतामै टुंगियो तीन दलको बैठक, ओली भन्छन्- 'संसदमा हाम्रो कुनै रणनीति छैन'

काठमाडौं : सहमतिको लागि बसेको प्रमुख तीन दलको बैठक औपचारिकतामै सीमित भएको छ।
 
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आह्वान गरेको बैठकमा नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का शीर्ष नेताहरुबीच सहमति जुट्न नसकेको हो। कुनै ठोस निष्कर्ष ननिस्किएपछि बैठक सकिएको छ।
 
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले संसदमा दर्ता गरिएको संविधान संशोधन प्रस्ताव फिर्ता लिनासाथ संसद खुल्ने तर्क दोहोर्‍याए। 'फिर्ता हुनासाथ खुल्छ। राम्रो हुन्छ र देश निर्वाचनमा जान्छ,' उनले भने।
 
सत्तापक्षले दबाबपूरण तरिकाले संसदमा प्रस्ताव पेश गर्न रणनीति सुनिन्छ नि भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले 'के को रणनीति?' भन्दै प्रतिप्रश्न गरे।
 
एमालेसँग पनि संसद अवरोधबाहेक अरु रणनीति नभएको भन्दै ओलीले भने, 'सोझो हिसाबले प्रस्ताव फिर्ता लिनासाथ सकिगो नि।'
 
बैठकबाट बाहिरिने क्रममा कांग्रेस नेता रामचन्द्र पौडेलले कुनै निष्कर्ष ननिस्किए पनि छलफललाई पुन: निरन्तरता दिइने बताएका छन्।
 
बैठकमा संसदमा दर्ता भएको संविधान संशोधन विधेयक, अख्तियारका निलम्बित प्रमुख लोकमानसिंह कार्कीविरुद्धको महाअभियोग तथा निर्वाचन विधेयकमाथि छलफल भएको थियो।
 
बैठकमा माओवादी केन्द्रबाट प्रधानमन्त्री प्रचण्ड र नारायणकाजी श्रेष्ठ, नेपाली कांग्रेसबाट सभापति शेरबहादुर देउवा र रामचन्द्र पौडेल, नेकपा (एमाले) बाट अध्यक्ष केपी शर्मा ओली र बामदेव गौतम सहभागी थिए।
 
सहमतिका लागि सभामुख ओनसरी घर्तीले दिएको चारदिने अल्टिमेटम सकिएपछि संसद बैठक बस्नुअघि सहमति जुटाउन दलहरु अन्तिम प्रयासमा छन्। संसद्को बैठक आज दिउँसो १ बजे बस्दैछ।
 
पूर्ववत् अडानवाट सत्तापक्ष र प्रतिपक्ष दुवै पछि हटेका छैनन्। सभामुख घर्तीले यसअघि दिएको चार दिनको अल्टिमेटम अनुसार आजको बैठक एक पटक मात्र बस्ने छैन। पहिलो बैठक अवरुद्ध भए सभामुखले दोस्रो बैठकको तयारी गरेकी छिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell