PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

एनआइसी एसियाको यस्तो जुक्ति, जसका कारण साटियो लाखौं भारु



सुदर्शन सापकोटा

एनआइसी एसियाको यस्तो जुक्ति, जसका कारण साटियो लाखौं भारु

काठमाडौं : नेपाल राष्ट्र बैंकले पटकपटक प्रयास गर्दा समेत नसाटिएको भारु नोट एक निजी क्षेत्रको बैंकले भने साटेको छ। एनआइसी एसिया बैंकले आफ्नै पहलमा ठूला दरका भारु नोट साटेको हो।
 
भारत सरकारले ५०० र १००० दरका भारु नोटमा प्रतिबन्ध लगाएपछि नेपालमा रहेको ठूला भारु 'खोस्टो' बराबर भएका थिए। तर एनआइसी बैंकले भने 'जुक्ति' लगाएर आफूसँग भएको भारु नोट साटेको हो।
 
बैंकले आफूसँग रहेको ६२ लाख भारु साटेको छ। भारतले ठूला नोटमा प्रतिबन्ध लगाएपछि नेपालको बैंकिङ प्रणालीमा कति नोट छन् भनेर राष्ट्र बैंकले विवरण माग गरेको थियो। सञ्चालनमा रहेका बैंक तथा वित्तीय संस्थासँग तीन करोड ३६ लाख भारु भेटिएको थियो।
 
राष्ट्र बैंकले प्रणालीभित्र र बाहिरका नोट साट्न भारतीय दूतावास, रिजर्भ बैंक अफ इण्डिया (आरबिआई) सँग पटकपटक कुराकानी गरेको थियो। उनीहरुले आश्वासन मात्र दिने गरेका थिए।
 
यहीबीच एनआइसी एसिया बैंकले आफ्नो खाता रहेको स्टेट बैंक अफ इण्डिया (एसबिआई) सँग नोट सटहीका बारेमा कुराकानी गर्‍यो। जोगवनीमा रहेको एसबिआइल आरबिआईसँग नोट सटहीका बारेमा कुराकानी मिलायो। यता एनआइसीले पनि राष्ट्र बैंकलाई आफ्नै पहलमा नोट साट्न अनुमति माग्यो। राष्ट्र बैंकले अनुमति दिनेबित्तिकै एनआइसीले एसबिआईमार्फत आफूसँग रहेको ६२ लाख भारु साटेको हो।
 
भारतीय सीमावर्ती क्षेत्रमा नेपालका अरु बैंकहरुको पनि खाता भारतीय बैंकहरुसँग छ। खासगरी रक्सौल र जोगवनीमा रहेका भारतीय बैंकहरुसँग नेपालका बैंकहरुको खाता छ। उनीहरु सबै राष्ट्र बैंकको भर परे र नोट साट्न सकेनन्।
 
अब नेपाली बैंकहरुको दुई करोड ७४ लाख रुपैयाँ साटिन बाँकी छ। भारत सरकारले आफ्ना नागरिकहरुलाई नोट साट्न दिने समय दुई दिनअघि नै सकिसकेको छ। नेपालमा रहेको भारु के हुने भन्ने अन्यौल भने कायमै छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell