PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

भारतबाट आयातित विद्युत् अब सोझै काठमाडौंमा



पहिलोपोस्ट

भारतबाट आयातित विद्युत् अब सोझै काठमाडौंमा

  • रमेश लम्साल
काठमाडौँ : भारतबाट आयात गरिएको विद्युत् काठमाडौँ ल्याउन महत्वपूर्ण मानिएको हेटोंडा–कुलेखानी–मातातीर्थ प्रसारण लाइन मङ्गलबारदेखि सञ्चालनमा आउने भएको छ।
 
हेटौँडा–कुलेखानी दोस्रो स्यूचाटार १३२ केभी क्षमताको प्रसारण लाइन चार्ज हुनेबित्तिकै भारतबाट आयात गरिएको विद्युत् काठमाडौँ ल्याउन सहज हुने भएको छ।
 
आयोजना प्रमुख केदार सिलवालले मकवानपुर जिल्लाको चौकीटोलदेखि कुलेखानी दोस्रो जलविद्युत् आयोजना हुँदै काठमाडौँको मातातीर्थसम्मको प्रसारण लाइन मङ्गलबार चार्ज गरिने जानकारी दिए।
 
२०६८ बाट सुरु भएको सो प्रसारण लाइनमुनि पर्ने जग्गा धनीले मुआब्जा एवम् क्षतिपूर्ति माग्दै लामो समयदेखि अवरुद्ध गर्दै आएका थिए। २०४३ सालमा नै कुलेखानी दोस्रोको विद्युत् राजधानी ल्याउन निर्माण गरिएको प्रसारण लाइनले दायाँ बायाँ नौ–नौ मिटर जग्गाको क्षतिपूर्ति दिइसकेको थियो।
 
मकवानपुरको चौकीटोल, काठमाडौँको तत्कालीन मातातीर्थ र स्यूचाटार गाविसले घर तथा आवास बनाउन अनुमति दिएका कारण प्रसारण लाइन विस्तारमा समस्या पर्दै आएको थियो। काठमाडौँ उपत्यकामा विद्युत्को माग बढ्दै गएपछि आयोजनाले एकल फेजमा रहेका प्रसारण लाइनलाई दोहोरो बनाउने तयारी गर्दा स्थानीयवासीले चर्को विरोध गर्दै अवरोध गरेपछि विस्तार कार्य रोकिएको थियो।
 
‘मङ्गलबार हामी प्रसारण लाइन चार्ज गर्दै छौँ, अब भारतबाट आयात भएको विद्युत् काठमाडौँ ल्याउन सहज हुने विश्वास लिएका छौँ,' आयोजना प्रमुख सिलवालले भने। प्रसारण लाइन निर्माणका लागि मात्रै आयोजनाले रु एक करोड ८४ लाख क्षतिपूर्ति १९ घरपरिवारलाई प्रदान गरेको छ।
 
भारतबाट आयात गरिएको विद्युत् ढल्केबर–हेटौँडा हुँदै काठमाडौँ ल्याउन सो प्रसारण लाइन सहयोगी हुने प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीको भनाइ छ। तर मातातीर्थ–स्यूचाटार प्रसारण लाइनमा भने थप १५ दिनपछिमात्रै चार्ज गरिनेछ।
 

ढल्केबर अन्तिम चरणमा

उता भारतबाट ल्याइएको विद्युत् काठमाडौँ ल्याउन महत्वपूर्ण ठानिएको अर्को प्रसारण लाइन खिम्ती ढल्केबर प्रसारण लाइन पनि अन्तिम चरणमा पुगेको छ। आयोजना प्रमुख श्याम यादवका अनुसार आगामी एक साताभित्रैमा परीक्षण चार्ज गरिनेछ। ढल्केबर–खिम्ती, लामोसाँघु हुँदै काठमाडौँमा विद्युत् ल्याउने यो अर्को प्रसारण लाइन हो।
 
विगत १३ वगर्षदेखि रोकिँदै आएको उक्त प्रसारण लाइन नयाँ सरकार गठन भएलगत्तै युद्धस्तरमा अगाडि बढेको थियो। भारतबाट आयात भएको विद्युत् काठमाडौँ ल्याउन समस्या भइरहेको समयमा दुई महत्वपूर्ण प्रसारण लाइनको निर्माण भएपछि सहज वातावरण बनेको प्राधिकरणका प्रवक्ता अधिकारीको भनाइ छ।
 
यही पुस १७ गते मध्यरात भारतबाट थप ४० मेगावाट विद्युत् जोडिएको सन्दर्भमा दुई महत्वपूर्ण प्रसारण लाइनको काम सम्पन्न हुनुले थप सहजता थपेको छ। यस्तै ढल्केबरमा निर्माणको क्रममा रहेको २२० केभी क्षमताको सवस्टेसनको पनि करिब ८० प्रतिशत काम सम्पन्न भएको प्राधिकरणले जनाएको छ। हिउँदलाई मध्यनजर गरेर काठमाडौँमा सहज रुपमा विद्युत् भित्र्याउने र विद्युत्भार कटौतीलाई शून्यमा झार्ने सरकारको लक्ष्यले पूर्णता पाउन लागेको प्राधिकरणको भनाइ छ।रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell