PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

निकुञ्जमा 'अपरेशन महाहन्ट' सुरु, भैरव बाहन गुल्मका कुकुरको पनि प्रयोग



पहिलोपोस्ट

चितवन : दुर्लभ वन्यजन्तु चोरी सिकार नियन्त्रण अभियानमा सार्थक बनेको ‘अपरेशन महाहन्ट’ चितवन राष्ट्रिय निकुञ्जमा सञ्चालन गरिएको छ।
 
गतवर्ष माघ दोस्रो साताबाट मात्र सञ्चालन गरिने महाहन्ट यस वर्ष पुस १५ गतेबाट नै सञ्चालन गरिएको हो। माघ १४ गते दुर्लभ एकसिङ्गे गैंडा चोरीसिकार शून्य भएको एक हजार दिन पुग्दैछ। सो दिनलाई विशेष उत्सवको रुपमा मनाउन महाहन्ट एक महिना अघिदेखि सुरु गरिएको निकुञ्ज सुरक्षार्थ खटिएको श्री जङग गणका गणपति माधव थापाले बताए।
 
यसअन्तर्गत विभिन्न गणका सेनाले ६ वटा समूह बनाएर निकुञ्ज गस्ती र बेस क्याम्प खडा गरेका छन्। गणपति थापाका अनुसार ‘दि’ फेमस महेन्द्र दल गण भरतपुर, वरख गण वीरगन्ज, इन्द्रबक्स गण रौतहटबाट एक सयजना सेना र भैरव बहान गुल्मका कुकुर महाहन्टमा प्रयोग भएका छन्। उनीहरुले निकुञ्जका तीन संवेदनशील क्षेत्रमा क्याम्प खडा गरेका छन्, भने तीनवटा समूहमा मोबाइल हन्टिङ गरी गस्ती गरिरहेका छन्।
 
चितवन राष्ट्रिय निकुञ्जमा सुरक्षार्थ खटिने सेनाले २०६७ बाट ‘अप्रेसन हन्ट’ सञ्चालन गर्दै आएकोमा २०७१ बाट भने महाहन्ट सञ्चालन गर्दै आएको छ।
 
गणपति थापाका अनुसार विगतको अवस्थालाई हेर्दा मङ्सिर महिनादेखि जेठ मसान्तसम्मको समयमा ८० प्रतिशत चोरी सिकार हुने गरेको पाइएको छ। चैतदेखि जेठसम्म ६० प्रतिशत चोरी सिकारी भएको तथ्याङ्कले देखाएको उनले बताए।
 
महाहन्ट सञ्चालनअघि पनि निकुञ्ज सुरक्षार्थ दैनिक १५० वटा गस्ती हुँदै आएको छ। जसमा पैदल, साइकल, मोटरसाइकल, गाडी, हात्ती र डुङ्गा गस्ती पर्दछन् । गस्तीमा ५५० जना सेना, निकुञ्ज कर्मचारी र समुदायमा आधारित चोरी सिकारी नियन्त्रण युवा अभियानका प्रतिनिधि परिचालन गरिँदै आएको छ। जसले एक दिनमा एक हजार ५०० किलोमिटर गस्ती गर्ने गरेको थापाले बताए।
 
चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले पछिल्लो समय समुदायलाई समेत समेटेर महाहन्ट सञ्चालन गर्न लागिएको भन्दै यसले निकुञ्ज र समुदायबीचको सम्बन्ध अझै नजिक हुने बताए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell