
काठमाडौं : भारतसँग सेमिफाइनलमा पराजित भएपछि नेपालको चौथो साफ महिला च्याम्पियनसिपको फाइनलमा पुग्दै उपाधि जित्ने सम्भावना समाप्त भएको छ। सिलगुढीस्थित कञ्चनजंगा स्टेडियममा भएके पहिलो सेमिफाइनलमा नेपाल भारतसँग ३-१ गोल अन्तरले पराजित भएको छ।
यसअघिका तीन संस्करणमा भारतसँगै फाइनलमा पराजित हुँदै उपविजेता बनेको नेपाल यो पटक भने सेमिफाइनलमै रोकिएको छ। नेपाल र भारत साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा पहिलो पटक भिडेका थिए। तर विपक्षी भारत परेपछि नेपालले भारतको चुनौती पन्छाउन सकेन र पहिलो पटक फाइनल पुग्नबाच बन्चित रह्यो।
पहिलो हाफमो एक मिनेट अगाडीसम्म नेपालले भारतलाई गोलरहित बराबरीमा रोकेपनि ४४ औं मिनेटमा कमला देवीले गोल गर्दै भारतलाई १-० को अग्रता दिलाइन्। पहिलो हाफमा भारतले गोलका लागि आधा दर्जन मौका पाएपनि नेपालकी गोलरक्षक एन्जिलाले उत्कृष्ट बचाउ गरेकी थिइन्।
दोस्रो हाफमा भारतले २ गोल थप्दा नेपालले एक मात्र गोल गर्न सक्यो। ५८ औं मिनेटमा इन्दुमतीले नेपाली डिफेन्सको कमजोरीको फाइदा उठाउँदै वन भर्सेस वनमा गोल गर्दै भारतको अग्रता दोब्बर पारिन्।
७५ औं मिनेटमा नेपालकी सावित्री भण्डारीले पेनाल्टीमार्फत गोल गर्दै नेपाललाई खेलमा फर्कने सम्भावना जगाएकी थिइन्। भारतीय खेलाडी मनिसा पन्नाले डि एरिया भित्र बल ह्याण्ड गरेपछि पाएको पेनाल्टीमा सावित्राले वेष्टहमको लेडिज टीमबाट खेल्ने भारतीय गोलरक्षक आदिती चौहानलाई कुनै मौका नदिई गोल गरेकी हुन्।
तर ८४ औं मिनेटमा भारतले तेस्रो गोल गरेपछि भारतलाई हराउने नेपालको सम्भावना सकिएको हो। भारतका लागि सस्मिता मल्लिकले कर्नरबाट गरेको प्रहार सिधै गोलमा परिणत भएको थियो।
समूह चरणबाट बंगलादेशसँग गोलरहित बराबरी खेलेको भारतले समूह् चरणमा कुनै गोल नखाएको नेपाललाई ३-१ ले पराजित गर्दै लगातार चौथो पटक फाइनलमा पुगेको छ। आजै हुने अर्को सेमिफाइनलमा बंगलादेश र माल्दिभ्स प्रतिस्पर्धा गर्दैछन्। उक्त खेलको विजेताले बुधबार भारतसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ।