PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

'आइएस आबद्ध आतङ्ककारीद्वारा इस्तानबुलको रात्रिक्लबमा आक्रमण'



पहिलोपोस्ट

'आइएस आबद्ध आतङ्ककारीद्वारा इस्तानबुलको रात्रिक्लबमा आक्रमण'

इस्तानबुल : टर्कीको इस्तानबुलमा रहेको एक रात्रि क्लबमा नयाँ वर्षमा रमाइलो गरिरहेका व्यक्तिमाथि भएको आतङ्ककारी आक्रमण इस्लामिक स्टेट (आइएस) आवद्ध जिहादी समूहले गरेको आशङ्का गरिएको छ।
 
टर्कीका अधिकारीद्वारा जारी एक प्रतिवेदनमा सो आशङ्का गरिएको त्यहाँका दैनिक पत्रिका हुरिएतले जानकारी दिएको छ।
 
रैना नामक यस विशिष्ट रात्रि क्लबमा भएको आक्रमणमा परी ३९ जनाको मृत्यु भएको थियो। यी सबैको अन्तिम संस्कार गरिसकिएको छ।
 
हुरिएतका अनुसार टर्कीका प्रहरी र गुप्तचर निकायका अधिकारीलाई आइएस आवद्ध आतङ्ककारीले नयाँ वर्षको सुरुमा टर्कीका कैयौं सहरमा आक्रमण गर्ने चेतावनीसमेत दिएका थिए।
 
यसै चेतावनीको आधारमा जारी प्रहरी कारबाहीमा आशङ्कित व्यक्ति पक्राउ समेत परेका छन्।
 
किर्गिजस्तान र उज्बेकिस्तानबाट आएका आइएस आतङ्ककारीसँग आवद्ध रहेको विश्वास गरिएका ती आतङ्ककारी अर्को आक्रमण तयारीमा रहेका समेत अनुमान गरिएको छ।
 
अधिकारीका अनुसार यस घटनामा मारिएमा इजरायल, फ्रान्स ट्युनिसिया लेबनान, भारत र बेल्जियम जोर्डन र साउदी अरेबियामा गरी करिब १६ जना विदेशी नागरिक रहेका छन्।
 
आक्रमणकारीले रैना रात्रि क्लबमा प्रवेशद्वारमा नै रहेका एक प्रहरी र सर्वसाधारणलाई नै गोली हानेर हत्या गरेपछि भित्र छिरेर जथाभावी गोली प्रहार गर्न सुरु गरेका थिए।
 
गृहमन्त्री सुलेमान सोएलुले आक्रमणकारीको खोजीकार्य तीव्र पारिएको र चाँडै नै नियन्त्रणमा लिइने विश्वास व्यक्त गरेका छन्।
 
आक्रमणमा घाइते भएका अन्य ६९ जनाको अस्पतालमा उपचार भइरहेको र घाइतेमध्ये केहीको अवस्था चिन्ताजनक भएकोले मृतकको सङ्ख्या पनि बढ्ने अनुमान गरिएको छ।रासस/एएफपी



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell