काठमाडौं : सभामुख ओनसरी घर्तीले सोमबार एक बजेको संसद बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सहितका विपक्षी गठबन्धनका सांसदहरुलाई १० मिनेट उभ्याइन्। त्यति मात्र होइन, उनले सोमबार नै दोश्रो बैठक समेत डाकिन् र समय तोकिन चार बजे।
एकै दिन दोस्रो पटक संसद बैठक राखिदा सबैको अनुमान थियो सभामुख विपक्षी गठबन्धनका सांसदलाई थकाउने रणनीतिमा लागिन्।
तर तीन बजे नै घर्तीले बैठक स्थगित भएको सूचना निकालिन्।
सभामुख घर्तीले संसदको चार बजेको बैठक अघि कार्यव्यवस्था परामर्श समितिको बैठक डाकेकी थिइन्। समिति बैठकमा सहमतिको प्रयास गर्न दलहरुले सभामुखलाइ सुझाएका थिए।
'कार्यव्यवस्थामा फेरी एकपटक शीर्ष नेताहरु समेत राखेर छलफल गर्ने कुरा भयो। भोली बिहान ११ बजे छलफल गर्ने भनेर १ बजे बैठक डाकियो', एमाले प्रमुख सचेतक भानुभक्त ढकालले भने।
प्रतिपक्षीका सांसदहरुलाई थकाउने रणनीति लिएकी सभामुख घर्तीले किन एक्कासी सूचना टाँस गरेर बैठक स्थगित गरिन् ?
सभामुखका प्रेस सल्लाहकार बासुदेव शर्मा बबिनका अनुसार शीर्ष नेता नजुटेपछि बैठक मंगलबारका लागि सरेको हो।
'सभामुखले संसदको बैठक राखेर दलहरुलाई सहमतिको समय दिने भन्नु भएको हो,' उनले भने ' तर शिर्ष नेता नजुटेपछि बैठक भोली (मंगलबार) का लागी सरेको छ।'
दश मिनेट उभ्याएकी सभामुखले एकाएक किन बैठक स्थगित गरिन् त ढकालले भने - 'त्यो त बजारमा के असर पर्छ । के हल्ला चल्छ। हेरौ भनेर गरेको होला।'
दिनमै एक भन्दा धेरै बैठक डाकेर बीचको समयमा संसद भवनबाटै सहमतिका लागि जुट्न सभामुख घर्तीले गरेको आव्हान दलहरुले पहिलो दिन नै लत्याएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवा संसद भवन नै पुगेनन्। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली भने संसदीय दलको बैठकका लागि संसद भवन पुगेपनि बैठक कक्षमा देखिएनन्।
सोमबार नै बसेको प्रमुख तीन दलको बैठकपछि सत्तारुढ दलहरुले सभामुख घर्तीलाइ आफूहरुले प्रमुख प्रतिपक्षीसँग मुठभेड नचाहेको जानकारी दिएको थियो। माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ प्रकाशले सभामुखलाई मुठभेड नचाहेको सुचना प्रवाह गरिने बताएका थिए।
संसदमा गत मंसिर १४ गते दर्ता भएको संविधान संशोधन विधेयकलाई लिएर मंसिर १६ देखि एमाले सहितका प्रतिपक्षी दलहरुले सदनमा अवरोध गर्दै आएका छन्। सत्तापक्षले भने संसदमा प्रस्ताव टेबल गरेर अगाडि बढ्ने बताउँदै आएको छ।