
काठमाडौ : जग्गाको खोजीमा रहेको नेचुरल फ्लावर एण्ड हर्बल प्रालीले चितवन भण्डारा गाविसमा तीन विगाह एक कट्ठा जग्गा फेला पारे । जग्गा धनी थिए जिवनराज पाठक । मोलमोलाई शुरु भयो । ४९ लाख ५० हजारमा कुरा मिलेपछि २०६६ चैत ९ गते राजिनामा पास गरेर जग्गा आफ्नो बनाए ।
व्यवसायीक प्रयोजनका लागी प्रालीले त्यही जग्गा सुरुमा हिमालय बैंकमा धितो राखेर ५ करोड निकाले । हिमालयको ऋण स्थानान्तरण गरेर प्राइम बैंकले त्यही जग्गाका लागी ८ करोड ऋण दियो ।
जग्गा किनेको ८ वर्षपछी खुल्यो प्रालीलाई जसले जग्गा विक्रि गरेका थिए ती सक्कली हैन नक्कली जग्गाधनी थिए । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको अनुसन्धानमा सो जग्गा मालपोतका कर्मचारीसँग मिलेर किर्ते गरी लोकेन्द्रराज पाठकको नामको जग्गा प्रालीलाई विक्रि गरेको खुल्यो ।
८ वर्षको विचमा करिव ५० लाखमा किनेको सो जग्गाको मुल्य यो विचमा करिव २२ करोड पुगिसकेको छ । त्यसमा खरिदकर्ताको मुल्य जोड्दा २२ करोड ५० लाख पुग्छ ।
बैंकमा धितो जमानी रहेको जग्गानै किर्तेको खुलेपछि प्रालिका सञ्चालकले अन्य सम्पत्ति जम्मा गरेर ऋण त जोगाए तर २२ करोड ५० लाख संकटमा पर्यो ।
ब्युरोका प्रमुख डिआइजी नवराज सिलवालका अनुसार किर्ते काममा मालपोत कार्यालय डिल्लीबजार र चितवनका गरी ४ जना कर्मचारीको समेत संलग्नता खुलेको छ । तीमध्य १ जना पक्राउ परेका छन्। बाँकी ३ जना फरार छन्।
ब्युरोले सोमबार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको अनुसन्धान विवरण अनुसार मोरङ इटहराका देवन्द्र थापाले किर्ते कागजपत्र बनाएर सो जग्गा प्रालीलाई विक्री गरेका थिए।
ब्युरोकी प्रवक्ता मिरा चौधरीका अनुसार झापा गौरिगञ्जका नगेन्द्र कार्कीले थापालाई सघाएका थिए। उनीहरुको योजनालाई मालपोत कार्यालय डिल्लीबजारका शाखा अधिकृत मिन बहादुर भट्टराइले सहयोग पुर्याएको खुलेपछि प्रहरीले यी तीनै जनालाई पक्राउ गरेको छ ।
यसरी भयो किर्ते
.jpg)
( ब्युरोमा सोमबार भएको पत्रकार सम्मेलनमा जग्गा ठगीबारे जानकारीदिँदै ब्युरो प्रमुख नवराज सिलवाल )
चितवनमा जग्गाको कारोवार गर्ने व्यक्तिबाट देवेन्द्र थापाले लोकेन्द्रराज पाठकको नाममा रहेके जग्गाको धनी पुर्जाको प्रतिलिपी पाएपछि यो ठगीको खेल शुरु भएको थियो। जग्गाधनी नेपालमा नबस्ने चाल पाएपछि थापाले लोकेन्द्र राज पाठकको नागरिकता र जग्गा धनी पुर्जा कीर्ते गरेका थिए।
उनले झापाका नगेन्द्र कार्कीलाई लेकेन्द्रराज पाठक बनाएर मालपोत कार्यालय, डिल्लीबजार ल्याई २०६६ फागुन २८ मा जग्गा जीवन राज पाठकको नाममा बेजिल्ले पास गरेका थिए।
बेजिल्ले पास भएपछि कागजात मालपोत कार्यालय, डिल्लीबजारका कर्मचारी वा हुलाकबाट जग्गा भएको मालपोत कार्यालय चितवनमा पठाउनु पर्ने भए पनि कर्मचारीले त्यसो गरेनन् ।
सक्कल कागजपत्र लिएर थापा समुह मालपोत कार्यालय, चितवन पुगेर पाठकको नाममा जग्गा दाखिला खारेज गरी २०६६ चैत ९ मा नेचुरल फ्लावर एण्ड हर्बल प्रालिलाई ४९ लाख ५० हजारमा राजिनामा पास गरेका थिए।
नेपाल आएको बेलामा चितवनमा रहेको जग्गा विक्रि गर्न खोज्दा जग्गा विक्रीभइसकेको खुलेपछि सक्कली जग्गाधनी पाठकले चितवन जिल्ला अदालतमा उजुरी दिए । त्यसबाट मात्र समस्या समाधान नभएपछि प्रहरीमा जाहेरी दिए र पाँचमध्य तीन जना पक्राउ परे।