.png)
काठमाडौं: आर्थिक वर्ष २०७३/०७४ को पहिलो ५ महिनामा ५३ हजार मोटरसाइकल दर्ता भएका छन्। यो संख्या गत आर्थिक वर्ष २०७२/०७३ को कुल दर्ता संख्या ७३ हजारको ७३ प्रतिशत हो।
यदि यहि चापले मोटरसाइकल दर्ता हुने हो भने पोहोर साल वर्षभरिमा दर्ता भएका मोटरसाइकलको कोटा यस बर्ष ६ महिना भित्रै पूरा हुनेछ। यसबाट सहजै अनुमान गर्न सकिन्छ कि अब राजधानीका सडकमा मोटरसाइकलको चाप कत्तिको बढ्नेछ।
मोटरसाइकल दर्ता बढेसंगै राजश्व संकलन पनि बढेको छ। चालु आर्थिक वर्षको ५ महिनामा एक अर्ब ७ करोड रुपैयाँ संकलन भएको यातायात ब्यबस्था कार्यालय, बागमती मोटरसाइकल शाखाका प्रमुख रमेश दाहालले बताए। गत आर्थिक वर्षको कुल राजश्व एक अर्ब ४८ करोड संकलन भएको थियो। अहिले ५ महिनामै संकलन भएको यो रकम पोहोरको कुल राजस्वको ७३ प्रतिशत नै हो।
गत वर्ष नाकाबन्दी र भूकम्पका कारण पनि आयातमा केही कमी भएको थियो मोटरसाइकल शाखा प्रमुख दाहालले भने, 'यो वर्ष आयात बढ्नुकासाथै मोटरसाइकल दर्ता तथा जाँच पास गर्दा लाग्ने शुल्कमा पनि फेरबदल भएकोले राजश्व दोब्बर हुने अनुमान छ।'
गत आर्थिक वर्षको सुरुवातमा ६९ लटको ६९८५ नम्बर देखि दर्ता सुरु भएको थियो। आर्थिक वर्षको अन्त्यमा ७७ लटको २६७ नम्बर सम्म दर्ता भएको थियो। एक लटमा ९९९९ मोटर साईकलको नम्बर हुन्छन्।
चालु आर्थिक वर्षको पुष १५ गते सम्म ७७ लटको २६८ नम्बर देखि ८२ लटको ३५ सय नम्बरसम्म दर्ता भैसकेका छन्।