
काठमाडौं : संसदको गतिरोध अन्त्यका लागि सभामुख ओनसरी घर्तीले आह्वान गर्नुभएको प्रमुख दलका शीर्ष नेतासहितको कार्यव्यवस्था परामर्श समितिको बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे बोलाइएको छ।
सोमवार प्रतिपक्ष दलहरुले संसद अवरुद्ध गरेपछि संसद् भवन बानेश्वरमा बोलाइएको कार्यव्यवस्थामा शीर्ष नेताहरु अनुपस्थित भएपछि मंगलवारसम्म बैठक स्थगित गरिएको थियो।
संसद्को कार्यसूचीमा परामर्श गर्ने उक्त समितिमा सभामुखले सदनको गतिरोधको विषयमा शीर्ष नेता र प्रमुख सचेतकसँग परामर्श गर्न लागेकी हुन् । दलहरुवीचको परामर्शपछि संसद् बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ।
कार्यव्यवस्था परामर्श समितिमा संविधान संशोधन विषयमा वा प्रक्रियामा सहमति खोज्ने सभामुखको प्रयास छ । समितिमा संशोधनको विषय वा प्रक्रियामा सहमति हुन नसके संसद बैठक कार्यसूचीमा प्रवेश गर्ने सम्भावना न्युन छ।
तर, सहमतिका लागि दलहरुले आफ्ना पूर्ववत अडान छाडेका छैनन् । सत्तापक्ष दलहरु संशोधन प्रस्ताव सदनमा पेश गर्ने प्रयासमा छन् । भने, प्रतिपक्ष मोर्चा प्रस्तावलाई सदन प्रवेशमा रोक्ने रणनीतिमा छ।
मंसिर १४ गते सरकारले सीमाङ्कन हेरफेरसहितको संशोधन प्रस्ताव दर्ता गरेपछि सदनमा अवरोध कायमै छ । मंसिर १६ गतेवाट सुरु भएको सदनको अवरोध एक महिना बढी भइसकेको छ।