PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

​संशोधन प्रस्ताव संसदमा पेश होला ? संसद् बैठक आज पनि बस्दै



पहिलोपोस्ट

​संशोधन प्रस्ताव संसदमा पेश होला ? संसद् बैठक आज पनि बस्दै

काठमाडौं : एक महिनादेखि औपचारिकतामा सीमित व्यवस्थापिका संसदको बैठक आज पनि बस्दैछ । सामेवार दुई चरणसम्मको बैठक असफल भएपछि सभामुख ओनसरी घर्तीले मंगलवार दिउँसो १ बजेका लागि बैठक बोलाएकी छन्।

संसद् बैठक अघि सभामुखले प्रमुख तीन दलका शीर्ष नेतासहितको कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएकी हुन्। कार्यव्यवस्था परामर्श समितिमा संशोधन प्रस्ताव विषय वा प्रक्रियामा सहमति भएमा संसदको कारवाही सुचारु हुन सक्छ। कार्यव्यवस्थामा निर्णय हुन नसकेमा मंगलवार पनि सदन सुचारु हुने सम्भावना छैन।

संसद् कार्यसूचीमा प्रवेश गर्ने अनिश्चित नै भएपनि सचिवालयले मंगलवारको पनि सम्भावित कार्यसूची भने प्रकाशित गरेको छ । पुरानै नियमित कार्यसूचीलाई सचिवालयले दैनिक कार्यसूचीमा प्रकाशन गरेको छ।

मन्त्रिपरिषद् विस्तारको जानकारी, निर्वाचन कानुन संसदमा पेश तथा संशोधन विधेयक पेश गर्ने कार्यसूची छ । यस्तै, संसदमा बिचाराधीन रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्वित प्रमुख आयुक्त लोकमानसिंह कार्कीबिरुद्धको महाभियोग प्रस्तावको छलफल जारी रहने पनि कार्यसूचीमा उल्लेख छ।

कार्यव्यवस्थामा सहमति नभए संसद्को पहिलो चरणको बैठक स्थगित गरी शीर्ष नेताहरुलाई पुनः परामर्शमा राख्ने सभामुखको तयारी छ।

मंसिर १४ गते राति सरकारले संविधान संशोधन दोस्रो विधेयक संसद् सचिवालयमा दर्ता गरेपछि प्रमुख दलहरुबीचमा ध्रुवीकरण बढेको छ । संशोधनमा प्रस्तावित सीमाङ्कनको विषयलाई लिएर प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसहितका दलहरुले प्रस्तावको विरोध गर्दै आएका छन्।

प्रतिपक्ष मोर्चाले मंसिर १६ गतेवाट संसद् अवरुद्ध गर्दै आएपनि संसद् सुचारुवारे कुनै सहमति जुट्न सकेको छैन । एक महिना भन्दा लामो समयदेखि संसद् कार्यसूचीमा प्रवेश गर्न नसकेपनि नियमित बैठक बसिरहेका छन् । संशोधन प्रस्तावको बिषय वा प्रक्रियामा सहमति नभएसम्म प्रस्तावले सदनमा प्रवेश पाउने सम्भावना न्युन छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell