
एजेन्सी : ब्राजिलको एमेजोनस राज्यस्थित एक बन्दीगृहमा दुई समुहवीच भएको झडपमा कम्तीमा ५६ जनाको ज्यान गएको छ । झडपमा थुप्रै घाइते भएका छन् । झडपको मौका छोपी केही कैदबन्दी जेलवाट भागेका छन्।
एमेजोनस राज्यस्थित मानसमा लागूऔषध तस्करी कसुरमा पक्राउ गरी बन्दीगृहमा राखिएका कैदीबीच झडप भएको हो । दुई समुहबीच भएको झडप आइतवार रातिवाट सोमवार बिहानसम्म चलेको अधिकारीहरुको भनाई छ।
झडपमा संलग्न कैदीहरुले प्रहरी समक्ष आत्मसमर्पण गरेका छन्। घटनापछि प्रहरीको छानविनमा कारगारभित्रै हतियार लुकाएर राखिएको पनि भेटिएको रोयटर्सले जनाएको छ। घटनामा नियन्त्रणमा लिइएका १२ सुरक्षागार्डलाई भने मुक्त गरिएको छ।
सात सय ४० जनाको क्षमता रहेको बन्दीगृहमा झडपको समयमा झण्डै १४ सय कैदी रहेको बिबिसीले जनाएको छ।
ब्राजिल विश्वमै चौथो बढी कैदीबन्दी भएको मुलुक हो । त्यहाँ ६ लाख कैदीबन्दी छन्।