PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

८ ट्रकमा लोड गरिएका १७१ गोरु प्रशासनको कब्जामा



पहिलोपोस्ट

चन्द्रौटा (कपिलवस्तु) : कपिलवस्तुको चन्द्रौटामा रहेको इलाका प्रशासन कार्यालयले गएराति १२ बजे आठ वटा ट्रकमा लोड गरिएका १७१ वटा गोरु कब्जामा लिएको छ।
 
भारतबाट खुला सिमानाका कारण कपिलवस्तुमा गोरु तस्कारी हुने खबर पाएपछि इलाका प्रशासन कार्यालय चन्द्रौटाका शाखा अधिकृत जगदीश अर्यालको नेतृत्वमा लोड गरी लैजाँदै गरेका ट्रकसहित गोरु बरामद गरिएको हो।
 
कपिलवस्तुको बहादुरगन्ज, जवाभारी, गडगौँडालगायतका स्थानबाट लोड गरिएका ट्रक रातारात हेटौँडा लैजाने गरेको इलाका प्रशासन कार्यालय चन्द्रौटाका शाखा अधिकृत जगदीश अर्यालले बताए.
 
भारतबाट अवैध रुपमा नेपाल प्रवेश गराई कपिलवस्तुको कृष्णनगरमा रहेको पशु क्वारेन्टाइनका कर्मचारीसँग मिलेर नेपाली कागज बनाएर लैजाँदै गरेका आठ ट्रकमा लोड गरिएका ती गोरु कब्जा गरिएको हो।
 
गोरु तस्कारले ना ५ ख ८८९०, ना ६ ख ५८०, ना ६ ख २०८१, ना ६ ख ६३०८, ना ६ ख ३३३४, ना ६ ख ५२०५, ना ५ ख ९००९ र ना ६ ख ६५१० नम्बरको ट्रकमा ती गोरु लोड गरी राति लैजाँदै गरेको अवस्थामा कपिलवस्तुको खरेन्द्रपुरबाट पक्राउ गरिएको हो।
 
इलाका प्रशासन कार्यालयका शाखा अधिकृत अर्याल, सुब्बा गणेश कार्की, स्थानीय एक पत्रकार र खरेन्द्रपुरमा रहेको सशस्त्र प्रहरी बल विन्ध्यावासिनी गणका रामबहादुर घर्तीको कमाण्डमा खटिएका ११ जनाको टोलीले खरेन्द्रपुरबाट ट्रकसहित गोरु पक्राउ गरेको थियो। कब्जा गरिएका गोरु र ट्रक रातिनै वडा प्रहरी कार्यालय चन्द्रौटामा बुझाइएको थियो।
 
तस्करले खुल्ला सिमानाका कारण भारतबाट अवैध रुपमा नेपाल भित्र्याउने, यहाँबाट बुटवल, नारायणगढ हुँदै हेटौंडा, झापामा पुर्‍याउने गरेका छन्। झापाबाट पुनः भारतमा प्रवेश गर्दै बङ्गलादेश पुर्‍याउने गरेको गोरु ओसारपसारमा संलग्न सिराहाका नुर मोहम्मदले जानकारी दिएका छन्।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell