बर्दिवास : महोत्तरी जिल्लाको सुदूरउत्तरवर्ती बर्दिवास नगरपालिका र आसपासका ग्रामीण क्षेत्रका बासिन्दा बाँदरको उपद्रवबाट आजित भएका छन्।
घरघरै पसेर सामान उधिन्ने, ससाना नानीलाई झम्टेर टोक्ने र धपाउन खोज्दा जाइलाग्ने बाँदरको उल्याइँले सर्वसाधारण आजित भएका हुन्।
बर्दिवास नपाको गौरीडाँडा, पाटु, कालापानी, रजवास, पर्साहीधाप, माइस्थान, टुटेश्वर, गणन्ता, वरडाँडा र चेरुलगायतका बस्ती र छिमेकका हाथीलेट, खयरमारा, बेलगाछी र लक्ष्मीनियाँ गाविस बस्तीमा बाँदरले घरघरै पसेर खानेकुरा, अन्नपात र अन्य सामान नोक्सान पार्दै आएका छन्।
बर्दिवास–१ को मुख्यचोक नजिकैको बस्तीमा पसेको बाँदरले त आफ्नो छ वर्षीय छोरा शिवमसहित पाँचसात जना ससाना नानीलाई टोकी, चिथोरी घाइते बनाएको बस्तीकी सविता बस्नेतले बताइन्। घाइते नानीहरुलाई बर्दिवास अस्पतालमा एन्टीरेबिज भ्याक्सिन लगाइ राखिएको छ।
बर्दिवास नपा क्षेत्रकै नेवारडाँडा र कामीडाँडा सामुदायिक वनबाट गाउँबस्ती पस्ने गरेका बाँदरले थांग्रामा राखेका मकैका झुत्ता उधिनेर दिनहुँ दुःख दिने गरेको बर्दिवास–४ गौरीडाँडाकी गीता खतिवडाको गुनासो छ।
घरघरै समूहमा पस्न लागेका बाँदरलाई सामान नष्ट गर्नबाट रोक्न खोज्दा आक्रमणनै गर्ने गरेको पीडितको भनाइ छ। आफ्नो बस्तीमा बाँदरको झम्टाइमा परेर ससाना नानीमात्र नभई कामकाजी महिला र बटुवासमेत तर्सन र घाइतेसमेत हुने गरेका बर्दिवास–६ रजवासका सामाजिक कार्यकर्ता रामबहादुर थापाले बताए।
वन क्षेत्रमा डढेलो लाग्नुसँगै मानव चहलपहल बढ्नाले, वन क्षेत्र अतिक्रमण हुनसँगै वनमा खानेकुराको अभाव भएपछि मान्छेसँग पहिलेदेखि नै मज्जाले रत्तिँदै आएका बाँदर खानाको खोजीमा गाउँ पस्न लागेको जिल्ला वन कार्यालय महोत्तरीका सहायक वन अधिकृत चन्देश्वर यादव बताउँछन्।
यसअघि गत दिपावली पर्वताका जिल्लाकै पशुपतिनगरमा जङ्गली बँदेल पसेर बालीनाली निकै नोक्सान गरेको थियो। महोत्तरीका गाउँनगर बस्तीमा यदाकदा नील गाई पनि देखिने गरेका छन्।