PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

नेपालगन्जमा अन्तर्राष्ट्रियस्तरको भारोत्तोलन एकेडेमी द्रुतगतिमा निर्माण हुँदै, के के सुविधा?



पहिलोपोस्ट

नेपालगन्जमा अन्तर्राष्ट्रियस्तरको भारोत्तोलन एकेडेमी द्रुतगतिमा निर्माण हुँदै, के के सुविधा?

नेपालगन्ज : सानो उमेरका बालबालिकालाई प्रशिक्षण दिएर भारोत्तोलनको कुशल खेलाडी बनाउने उद्देश्यका साथ नेपालगन्जमा अन्तर्राष्ट्रियस्तरको ‘वेटलिफ्टिङ फिटनेस एकेडेमी सेन्टर’ को निर्माण कार्य दु्रतगतिमा भइरहेको छ।
 
एकेडेमी निर्माणपछि विशेषतः मध्य तथा सुदूरपश्चिमाञ्चलका सबै जिल्ला र पश्चिमाञ्चल क्षेत्रअन्तर्गत केही जिल्लाका विद्यालय उमेरका बालबालिकाको छनोट गरी उनीहरुलाई सबै सुविधासहित भारोत्तोलन खेलको आधुनिक प्रशिक्षण दिइनेछ।
 
नेपाल भारोत्तोलन सङ्घका केन्द्रीय अध्यक्ष रतन टण्डनका अनुसार, केटा र केटी गरी करिब ५० जना प्रशिक्षार्थी अट्न सक्ने क्षमताको तीन तले एकेडेमी भवन निर्माणको काम दुई वर्षभित्र सक्ने लक्ष्य निर्धारण गरिएको छ।
 
करिब एक करोडको लागतमा निर्माण हुने एकेडेमी भवनमा भारोत्तोलन प्रशिक्षणका लागि आवश्यक पर्ने थप करिब एक करोड बराबरको उपकरण समेत जडान गरिने छ।
 
हालसम्म केन्द्रबाट २० लाख रकम निकासा भइसकेको र थप रकम निकासाका लागि प्रक्रिया समेत अघि बढिसकेको जनाइएको छ।
 
एकेडेमी भवनमा तालिम कक्ष, प्रतिक्षालय कक्ष, चेन्जिङ कोठा, सुत्ने कोठा, पुस्तकालय, भान्साघर, सोनाबाथलगायत सुविधा सम्पन्न संरचनाको व्यवस्था गरिएको कन्सल्टेन्ट इन्जिनियर महेश थापाले जानकारी गराए।
 
दक्षिण एसियाली भारोत्तोलन सङ्घका संयोजक समेत रहेका टण्डनका अनुसार, नेपालगन्ज रङ्गशाला क्षेत्रको कुल चारहजार वर्गफिट जग्गा एकेडेमीअन्तर्गत रहने र कुल जग्गामध्ये दुई हजार ८०० वर्ग फिटमा भवन निर्माण हुनेछ।
 
एकेडेमीमा तालिम दिइने विद्यार्थीको अध्ययनलगायतका सबै खर्च संस्थागत हुनेछ भने एकेडेमीको प्रशासन र अन्य प्राविधिक खर्चका लागि सहयोगी हात खोजिने पनि अध्यक्ष टण्डनले बताए।
 
भवन निर्माण र उपकरण जडानका लागि नेपाल सरकार, राष्ट्रिय खेलकुद परिषद् र अन्तर्राष्ट्रिय भारोत्तोलन सङ्घ र एसियाली भारोत्तोलन सङ्घबाट आर्थिक तथा अन्य सुविधा प्राप्त हुने जनाइएको छ। रासस

(फोटो : टी एस ठकुरीको फेसबुक)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell