
इस्लामाबाद (पाकिस्तान) : भारत र पाकिस्तानबीच सम्बन्धमा चिसोपना देखिरहेका बेला मङ्गलबार पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफले पाकिस्तानी उच्चपदस्थ अधिकारीको बैठक गरी छिमेकी तथा रणनीतिक साझेदार राष्ट्रसँगको सम्बन्धबारे समीक्षा गरेका छन्।
प्रधानमन्त्री सरिफ र पाकिस्तानले यस क्षेत्रका सबै राष्ट्रसँग शान्तिपूर्ण सहअस्तित्वमा विश्वास गरेको र उनीहरुसँग मजबुत र परस्पर लाभकारी सम्बन्ध स्थापना गर्न चाहेको पाकिस्तानी सरकारद्वारा जारी एक वक्तव्यमा जनाइएको छ।
बैठकमा प्रधानमन्त्री सरिफले भने ‘शान्तिपूर्ण सहअस्तित्व, पारस्परिक समान र आर्थिक रुपमा एकीकृत क्षेत्र बनाउने हामीहरुको साझा उद्देश्य रहेको र यस उद्देश्यलाई हृदयङ्गम गरी अघि बढ्न पहल गर्नुपर्छ । शान्ति, प्रगति र समृद्धिका लागि यसप्रति प्रतिबद्ध देखाउन सकेमात्र हाम्रो लक्ष्यमा पुग्न सकिने छ।’
पाकिस्तानी प्रधानमन्त्रीको यो धारणा पाकिस्तानस्थित आतङ्कवादी समूहले उरीस्थित भारतीय सैन्य शिविरमा गत सेप्टेम्बरमा आक्रमण गरेपछि सम्बन्धमा हदै चिसोपना देखिएका बेला आएको हो।
सरिफले उक्त अवसरमा चीन–पाकिस्तान आर्थिक मार्ग क्षेत्रीय सम्बन्ध र पारस्परिक समृद्धिका लागि पाकिस्तानको चाहनामा बनेको आधारशीला भएको अवधारणा भएको बताए।
बैठकले अन्तर्राष्ट्रिय सम्बन्धमा देखिने चुनौतीका बीच मुलुकका विभिन्न नीतिगत विकल्पको मूल्याङ्कन पनि गरेको बताइएको छ । बैठक क्षेत्रीय, बाह्य तथा आन्तरिक सुरक्षा अवस्था विषयमा केन्द्रित भएको पनि विज्ञप्तिमा जनाइएको छ।
पाकिस्तानी अर्थमन्त्री इशाक दार, गृहमन्त्री निसार अलि खान, सैनिक प्रमुख कमार जाबेद वाजवा, आईएएआई प्रमुख लगायत उच्च सुरक्षा अधिकारी उपस्थित बैठकले छिमेकी मुलुकसँगको दुईपक्षीय तथा बहुपक्षीय सम्बन्ध र क्षेत्रीय स्थायित्वका लागि आगामी योजना र पारस्परिक हितका लागि सम्बन्ध सुधारलगायतका विषयमा समीक्षा गरेको बताइएको छ। रासस÷पीटीआई