
इन्जुरी टाइममा ओलिभर जिरुडले गोल गरेपछि आर्सनलले प्रिमियर लिगमा उत्कृष्ट कमब्याक गर्दै एएफसी बर्नमाउथसँग ३-३ गोलको बराबरी खेलेको छ।
३-० ले पछि परेको अवस्थामा आर्सनलले अन्तिम २० मिनेटमा ३ गोल फर्काउँदै आर्सनलले बराबरी खेल्दै बर्नमाउथसँग एक अंक खोसेको हो।
खेलको पहिलो हाफमै आर्सनलले २ गोलले पछि परेको थियो।
१६ औं मिनेटमा चार्लि ड्यानियल र २१ औं मिनेटमा कलुम विलसनले पेनाल्टीमा गोल गर्दै बर्नमाउथलाई दुई गालेको अग्रता दिलाए। ५८ औं मिनेटमा राएन फ्रेजसले गोल गर्दै बर्नमाउथलाई ३-० को अग्रता दिलाएका थिए। तर बर्नमाउथ ३ गोलको लिड लिएर पनि जितसम्म पुग्न सकेन भने आर्सनलले उत्कृष्ट प्रदर्शन गर्दै तीन गोल फर्कायो।
आर्सनलको लागि ७० औं मिनेटमा एलेक्सिस सान्चेजले पहिलो गोल गरे भने बैकल्पिक खेलाडी लुकास पेरेजले ७५ औं मिनेटमा दोस्रो गोल गरे।
८३ औं मिनेटमा सिमाने फ्रान्सिसले रातो कार्डको सामना गरेपछि बर्नमाउथ १० खेलाडीमा झरेको थियो।
निर्धारित समयसम्म पनि बर्नमाउथ जित नजिक थियो तर जिरुडले इन्जुरी टाइमको दोस्रो मिनेटमा जाकाको पासमा हेडमार्फत गोल गर्दै खेल बराबरी गरे।
बराबरीपछि अंक बाँड्ज सफल भएपनि आर्सनलले अंक तालिकामा म्यानचेष्टु सिटीलाई पछि पार्ने मौका गुमाएको छ। २० ख.लबाट ४१ अंक जोडेको आर्सनल चौथो स्थानमा यथावत छ भने तेस्रो स्थानको सिटीको समान खेलबाट ४२ अंक छ।
यस्तै ४४ अंक रहेको लिभरपुल दोस्रो स्थानमा छ। आज २० औं चरणको अन्तिम खेलमा लिग लिडर चेल्सी र पाँचौं स्थानको टोटनहम हट्सपरबीच प्रतिस्पर्धा हुँदैछ।
चेल्सी विजयी भएको शीर्ष स्थानमा लिभरपुलमाथि ८ अंकको अग्रता बनाउनेछ। यता टोटनहमले खेल जिते टोटनहम आर्सनल र सिटीलाई पछि पार्दै तेस्रो स्थानमा उक्लनेछ। १९ खेलबाट चेल्सीको ४९ अंक छ भने टोटनहमको समान खेलबाट ३९ अंक छ।
चेल्सीले पहिलो चरणको खेलमा टोटनहमलाई स्टानफोर्ड ब्रिजमा २-१ ले हराएको थियो।