रोल्पा : खोटो बिक्रीबाट रोल्पा जिल्लाका सामुदायिक वन उपभोक्ता समूहले वार्षिकरुपमा करोडौँ आमदानी गर्ने गरेका छन्।
जिल्लामा रहेका ६ सय १३ सामुदायिक वनमध्ये दुईसयभन्दा बढी सामुदायिक वनले खोटो निकाल्दै आएको सहायक वन अधिकृत भीम कालीकोटेले जानकारी दिए।
जिल्लाका विभिन्न ६ स्थानमा रोजिन एन्ड टर्पेन्टाइन कम्पनीले सङ्कलनको काम गरिरहेका छन् । सङ्कलित खोटो प्रतिकिलो रु १० का दरले खरिद गर्नुका साथै स्थानीयरुपमा रोजगारीसमेत सिर्जना भएको बताइएको छ । सामुदायिक वनको क्षेत्रफल हेरेर वार्षिक रुपमा न्यूनतम रु २५ हजारदेखि अधिकतम रु दुई लाखसम्म आम्दानी गर्ने गरेको कालीकोटेले बताए।
यसरी खोटो सङ्कलनबाट मात्र जिल्लाका सबै सामुदायिक वनको आम्दानी जोड्दा करोडाँै हुने गर्दछ । प्राप्त आम्दानीमध्ये सामुदायिक वनले वन विकास, सामुदायिक विकास, आयआर्जनका क्रियाकलापमा खर्च गर्ने गरेको सामुदायिक वन उपभोक्ता महासंघ रोल्पाका अध्यक्ष नीमकुमारी सिंहले जानकारी दिए।
यसबाट प्राविधिक रुपमा बढी तेजाब प्रयोग भएका रूखमा असर देखिने बाहेक अन्य कुनै असर नहुने जिल्ला वन कार्यालय रोल्पाले बताएको छ । खोटो निकालिएको वन क्षेत्रमा आगलागीको जोखिम अलि बढी हुने भएकाले उपभोक्ता सचेत हुनुपर्ने बताइएको छ। रासस