PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

​भारतको नोटबन्दीपछि सीमामा अवैध भारु कारोबार बढ्यो



पहिलोपोस्ट

बनियानी : झापाको सीमावर्ती क्षेत्रमा भारुको अवैध कारोबार मौलाउँदै गएको छ । भारतले नोटबन्दी गरेयता भारुको अवैध कारोबार अझ मौलाएको हो। 

नेपाल राष्ट्र बैंकले भारतीय नोटको विनिमय दर रु एक सयको रु एकसय साठी रुपैयाँ १५ पैसा कायम गरेको छ । तर, यहाँका सीमावर्ती क्षेत्रमा सञ्चालित मनी चेन्जरले भारु सयको एकसय ७८ देखि रु एकसय ९० सम्म नेपाली रुपैयाँ लिने गरेका छन्।

अझ बाटोमै बसेर भारुको अवैध कारोबार गर्नेले त भारु सयको दुई सय रुपैयाँसम्म लिने गरेका छन् । किन यति धेरै विनियम दर भनेर मनी चेन्जर सञ्चालकलाई प्रश्न गर्दा ‘यस्तै छ’ भन्ने गरेका छन्। 

भारतको सीमावर्ती बजार गलगलिया, पानीट्याङ्की, नक्सलबाडी लगायतका बजारमा किनमेलका लागि यहाँका सर्वसाधारण जाने गरेका छन् । भारु सटहीको मार नेपाली मात्र नभई भारतीय नागरिकलाई समेत परेको छ।

नेपाल घुमफिरका लागि भारतको दिल्लीबाट आएका दिवाकर सेट्टीले भारु साट्न समस्या भएको सुनाए । उनले भने, ‘एक हजार नेपाली रुपैयाँको पाँचसय मात्र भारु दिने भन्छन के गर्नु समस्यामा परेको छु ।’ 

नेपाल राष्ट्र बैंकको भद्रपुर शाखा र काँकरभिट्टा शाखाले दैनिक रु तीनलाख भारु बाँड्ने गरे पनि त्यो पर्याप्त भएको छैन । बैंकमा घन्टौँसम्म लाइन लागेर पनि ग्राहकले भारु पाउन सकेका छैनन्। 

भारुको कारोबार गर्नेले पानीट्याङ्कीमा नेपाली उपभोक्ताले खर्च गरेको पैसा पसलबाट सङ्कलन गरी पुनः काँकरभिट्टा नाकामा ल्याएर बेच्ने गरेका छन् । यसरी सङ्कलन गरेको रकम कारोबारीको हातमा आउने र पुनः महँगोमा बेच्ने गरेकाले नेपाली उपभोक्ता दोहोरो मारमा परेका छन्। 

‘पहिले त रु एक हजार साट्दा ५०÷६० रुपैयाँ बढी दिँदा पाइन्थ्यो’, किनमेलका लागि गलगलिया जान लागेकी भद्रपुरकी सङ्गीता पौडेलले भनिन, ‘यसो दुई÷चार पैसा सस्तोमा चिनी, तेल पाइन्छ भनेर पैसा साट्न आएको, एक हजार भारुको एकहजार आठसय पो भन्छन् ?’ उनले नियामक निकायले चासो नदिँदा सर्वसाधारण जहिल्यै पनि मारमा पर्ने गरेको बताइन्। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell