
काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक परिवर्तनलाई संस्थागत गर्न र संविधानको कार्यान्वयनका लागि त्रिभुवन विश्वविद्यालयलाई केन्द्रीय विश्वविद्यालयसहित उत्कृष्ट केन्द्र बनाउन निर्देशन दिएका छन्।
त्रिभुवन विश्वविद्यालय सभाको ४२ औँ साधारण बैठक (सिनेट) लाई आज कीर्तिपुरमा सम्बोधन गर्दै उनले स्थानीय निर्वाचनको मिति तय भइसकेपछि त्यसलाई प्रतिकूल असर नगर्ने वातावरण सिर्जनासहित स्ववियु निर्वाचन पनि गराउन आग्रह गरे।
उच्च शिक्षालाई समयानुकूल बनाउन त्रिविजस्तो इतिहास बोकेको संस्थाले सोच्नुपर्ने जनाउँदै उनले यसको चुस्त शैक्षिक वातावरण निर्माणका पहल गर्न आग्रह गरे। त्रिविका कुलपतिसमेत रहेका प्रधानमन्त्री दाहालले प्रशासनिक र नीतिगत विषयमा आवश्यकताअनुसार सुधार गरी आफ्ना कार्य सञ्चालन गर्न, प्राज्ञिक संस्थामा अति राजनीतिकरण नगर्न, उचित व्यवस्थापन गर्न पनि आग्रह गरे।
'शिक्षालाई वैज्ञानिक, रोजगारमूलक र गुणस्तरीय बनाउनुपर्छ र व्यवस्थापनमा विकेन्द्रीकरण र स्वायत्ततालाई क्रमिक अघि बढाइनु आवश्यक छ,' उनले भने।