PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

देशभरका नगरपालिकामा ४५ हजार सोलार सडक बत्ती जडान हुने



पहिलोपोस्ट

देशभरका नगरपालिकामा ४५ हजार सोलार सडक बत्ती जडान हुने

काठमाडौँ : सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले मुलुकभरका २१७ नगरपालिकामध्ये १४३ नगरपालिकालाई सौर्य सडक बत्ती जडान गर्न रु ५० करोड विनियोजन गरेको छ।

मन्त्रालयले जनहसभागितामा आधारित रहेर सौर्य सडक बत्ती जडान गर्न २१७ नगरपालिकासँग प्रस्ताव आह्वान गरेको थियो। ती मध्ये १४३ नगरपालिकाले नगर क्षेत्रमा सौर्य सडक बत्ती जडान गर्न प्रस्ताव पेस गरेका हुन्।
 
सौर्य सडक बत्ती जडानका विभिन्न नगरपालिकालाई रु ४७ करोड ७२ लाख ५३ हजार अनुदानस्वरुपको रकम उपलब्ध गराई सकिएको मन्त्रालयले जनाएको छ। त्यस्तै दोस्रो चरणमा सौर्य सडक बत्ती जडान गर्न विभिन्न २१ वटा नगरपालिकाले प्रस्ताव पेस गरेका र तीन नगरपालिकालाई रु दुई करोड अनुदान निकासा गरेको जनाएको हो।
 
मन्त्रालयअन्तर्गको नगरपालिका शाखाका उपसचिव नरहरि शर्मा भण्डारीले १४३ नगरपालिकालाई कुल ४५ हजार ३०८ वटा सडक बत्ती जडान गर्न अनुदान उपलब्ध गराइएको बताए। नगर क्षेत्रमा सौर्य सडक बत्ती जडान गर्न मन्त्रलालयले ६५ प्रतिशत अनुदान दिनेछ। त्यस्तै प्रत्येक नगरपालिकाले २० प्रतिशत र उपभोक्ता समितिले १५ प्रतिशत रकम व्यहोर्नुपर्ने हुन्छ।
 

एघार सय किमी सडक उज्यालो हुँदै

मन्त्रालयले ४५ हजार ३०८ थान सौर्य सडक बत्ती जडान भएपछि नगर क्षेत्रका करिब एक हजार १०० किलोमिटर सडक उज्याला हुने दावी गरेको छ। देशभरका करिब ५० हजार सडक बत्ती सौर्य बत्तिबाट विस्थापन गर्ने सरकारले दावी गरेको छ।

सौर्य सडक बत्ती जडान गरिएपछि सडक बत्ती बालेबापत नेपाल विद्युत् प्राधिकरणलाई तिर्दै आएको महसुलका कारण नगरपालिकालाई पर्ने आर्थिक व्ययभार घट्ने छ।
 
मन्त्रालयले बैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले तोकेको मापदण्डअनुसार स्वीकृति प्राप्त सोलार कम्पनीबाट सौर्य सडक बत्ती जडान सकिने जनाएको छ। केन्द्रको मापदण्डमा सोलार प्यानलमा २० वर्ष, ब्याट्रीमा पाँच वर्ष र सौर्य बत्तीमा दुई वर्षको ग्यारेन्टी हुनुपर्ने व्यवस्था गरिएको छ। मन्त्रालयले यही पुस २५ गतेभित्र सबै नगरपालिकालाई टेन्डर प्रक्रिया सकेर काम सुरु गर्न दिर्नेशन समेत दिएको सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्रीका प्रेस संयोजक अशोक घिमिरेले जारी गरेको प्रेस नोटमा उल्लेख छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell