PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

​प्रिमियर लिग : चेल्सीको कीर्तिमानी विजय यात्रा रोकियो, टोटनहमसँग पराजित



पहिलोपोस्ट

​प्रिमियर लिग : चेल्सीको कीर्तिमानी विजय यात्रा रोकियो, टोटनहमसँग पराजित

टोटनहम हट्सपरसँग २-० ले पराजित भएपछि प्रिमियर लिगमा लगातार १४ खेल जित्दै नयाँ कीर्तिमान बनाउनबाट चेल्सी चुकेको छ। यसअघि लगातार १३ प्रिमियर लिग खेल जितेको चेल्सी टोटनहमसँग उसैको मैदानमा पराजित भएको हो। 


डेले अलीले दुई गोल गरेपछि टोटनहमले लण्डन डर्बीमा शानदार जित हासिल गरेको हो। जितसँगै टोटनहमले घरेलु मैदान ह्वाइट हार्ट लेनमा चेल्सी विरुद्धको उत्कृष्ट प्रदर्शन लाई निरन्तरता दिएको छ। लेनमा पछिल्लो ११ खेलमा चेल्सीले एक खेल मात्र जितेको छ।

टोटनहमको लागि पहिलो हाफको इन्जुरी टाइममा अलीले क्रिस्टियन एरिक्सनको पासमा हेडमार्फत पहिलो गोल गरे। दोस्रो हाफमा पनि उनले हेडमार्फत नै गोल गरे। ५४ औं मिनेटमा अली पुनः एरिक्सनकै पासमा गोल गर्दै अग्रता दोब्बर पारेका हुन्। 

जितसँगै टोटनहमले पहिलो चरणमा चेल्सीसँग बेहोरेको हारको बदला समेत लिएको छ भने अंक तालिकामा म्यानचेष्टर सिटी र आर्सनललाई पछि पार्न सफल भएको छ। २० खेलबाट सिटी समान ४२ अंक जोडेको टोटनहम तेस्रो स्थानमा उक्लेको छ। गोल अन्तरमा सिटी चौथोमा झरेको छ। 

हारका बावजुत पनि २० खेलबाटै ४९ अंक जोडेको चेल्सी शीर्ष स्थानमा कायमै छ। ४४ अंक जोडेको लिभरपुल दोस्रो स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell