
जेम्स रोड्रिग्वेजको २ गोल मद्वतमा रियल मड्रिडले कोपा डेल रे अन्तर्गत अन्तिम १६ को पहिलो खेलमा सेभियालाई पराजित गरेको छ। घरेलु मैदान सान्टियागो बर्नाबेउमा सेभियालाई ३-० ले पराजित गर्दै रियलले क्वाटरफाइनल पुग्ने सम्भावना मजवुत बनाएको हो।
ला लिगामा शीर्ष स्थानमा रहेको रियलको जितमा जेम्सले २ गोल गर्दै राफेल भरानले १ गोल गरे तीन गोल पहिलो हाफमा सम्भव हुँदा जेम्सले ११ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए।
२९ औं मिनेटमा भरानले रियलको अग्रता दोब्बर पारे। पहिलो हाफ सकिन एक मिनेट बाँकी रहँदा रियलले पेनाल्टी पाएपछि जेम्सले पेनाल्टीमार्फत व्यक्तिगत दोस्रो तथा रियलको लागि तेस्रो गोल गरे।
अन्य खेलमा रियल सोसिडाडले भियारियललाई ३-१ ले पराजित गर्दा अलकोकोन र कोर्डोबाले गोलरहित बराबरी खेलेका छन्।
अन्तिम १६ अन्तर्गत पहिलो लेगको अन्तिम खेलमा आज बार्सिलोना र एथ्लेटिक विल्वाओबीच प्रतिस्पर्धा हुँदैछ।