PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

​लोकमानविरुद्धको मुद्दामा आज सर्वोच्चमा बहस, आउला अन्तिम आदेश ?



पहिलोपोस्ट

​लोकमानविरुद्धको मुद्दामा आज सर्वोच्चमा बहस, आउला अन्तिम आदेश ?

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्वित प्रमुख आयुक्त लोकमानसिंह कार्कीको योग्यता सम्वन्धी मुद्दामा आज पनि सर्वोच्चमा बहस हुदैछ । पुस ८ गतेको ‘हेर्दाहेर्दै’को क्रममा रहेको मुद्दामाथि विपक्षीतर्फको बहस सक्ने प्रयासमा अदालत छ।

झण्डै दुई साता स्थगित भएपछि हुन लागेको सुनुवाईमा विपक्षीको बहस सकिएसँगै आदेश जारी हुने अनुमान गरिएको छ। तर, लिखित बहस नोट पेश गर्न कानुन व्यवसायीले समय माग गरेमा केही दिन लम्विन सक्छ।

न्यायाधीशरु इश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको पूर्ण इजलासमा मुद्दाको सुनुवाई हुनेछ। पुनरावलोकनको निस्सा पाएकाले यो विषय योग्यता र आचरणमा केन्द्रित भएर मात्रै बहस हुनेछ।

मंसिर १६ गते नै कार्कीबिरुद्धको मुद्दामा पेशी तोकिएको भए पनि कार्कीका कानुन व्यवसायीले स्थगित गरेका थिए। स्थगितसँगै अदालतले पुस ७ गतेका लागि स्थगित नहुने गरी पेशी तोक्न आदेश जारी गरेको थियो।

पुस ७ गते ‘लिड जज’ परिवर्तन गर्दै अदालतले कार्कीबिरुद्धको मुद्दाको सुनुवाई अघि बढाएको थियो। त्यसअघि न्यायाधीश जगदिश शर्मा पौडेलले लिड गरिरहेको इजलासको जिम्मेवारी न्यायाधीश इश्वरप्रसाद खतिवडालाई दिइएको थियो।

पुस ७ गते निवेदकका तर्फवाट कानुन व्यवसायीले बहस गरेका थिए भने पुस ८ गतेवाट बिपक्षीका कानुन व्यवसायीले बहस सुरु गरेका छन् । ८ गते कार्कीका तर्फवाट बरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपाने र अधिवक्ता माधवकुमार बस्नेतले बहस गरेका थिए।

कार्कीका तर्फवाट वकालतनामा हालेका बरिष्ठ अधिवक्ता तथा पूर्व महान्यायाधिवक्ताहरु सुशीलकुमार पन्त, बद्रीबहादुर कार्की, महादेव यादवलगायतलाई सरकारी वकिलको राष्ट्रिय सम्मेलनमा सम्मानको कार्यक्रम तय भएकाले ८ गतेको बहसमा उनीहरु सहभागि भएनन् । आज कार्कीका तर्फवाट बरिष्ठ अधिवक्ताहरुले बहस गर्नेछन्।

कार्कीको योग्यता सम्वन्धी विषयमा अधिवक्ता ओमप्रकाश अर्यालले दायर गरेको रिटमा सर्वोच्चको अन्तिम फैसला पुनरावलोकन भई नियमित पेशी चढेको हो। योग्यतामाथिको अन्तिम फैसलामा सर्वोच्चले भदौ ३१ गते पुनरावलोकन हुने निस्सा प्रदान गरेको थियो। प्रधानन्यायाधीश सुशीला कार्कीसहितको पूर्ण इजलासले यस्तो आदेश गरेको थियो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell