
इटहरी : दुर्लभ बबुल प्रजातिको जङ्गली भैँसी (अर्ना) का लागि स्वर्गभूमिको उपनामले परिचित कोसीटप्पु वन्यजन्तु आरक्षबाट केही अर्ना चितवन राष्ट्रिय निकुञ्जमा सार्ने कुराले सुनसरीवासी आक्रोशित बनेका छन्।
स्थानीय सरोकारवालाले अर्ना सार्ने हो भने कोसीटप्पु वन्यजन्तु आरक्षको दिगो विकास योजनालाई अघि सार्नु पर्ने माग राखेका छन्।
कोसीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा मात्र संरक्षित बबुल प्रजातिको अर्ना प्राकृतिक विपत्ति पर्दा वंश नै जोखिममा पर्न सक्ने भन्दै सरकारी पक्षले कोसीटप्पु आरक्षको जस्तै वातावरण मिल्ने चितवन राष्ट्रिय निकुञ्जमा सार्ने तयारी गरेको छ। तर त्यहाँको हावापानी, भूगोल र वातावरणले अर्नाका लागि उपयुक्त हुने वा होइन भन्ने विषयमा गहन अध्ययन भने नभएको सरोकारवाला बताउँछन्।
एक वर्ष अघिदेखि नै आरक्ष प्रशासन विभाग र स्थानीय प्रशासनले चितवन राष्ट्रिय निकुञ्जसँगको सहकार्यमा कोसीटप्पु वन्यजन्तु आरक्षबाट ३० थान भाले र पोथी अर्ना लैजाने तयारी गर्दै आएको हो। यतिखेर कोसीटप्पु वन्यजन्तु आरक्षमा सुरक्षा व्यवस्था कडा बनाइएको छ। यही बेला आरक्षमा पर्यटक आउने मौसम भए पनि आरक्षमा कसैलाई प्रवेश नदिइएको हो। आरक्षमा पछिल्लोपटक २०७२ को चैतमा गरिएको गणनामा आरक्षमा ४३० अर्ना पाइएको थियो।
त्यस बेला वयस्क भाले १२० वटा, वयस्क पोथी १८२ वटा, साना बच्चा १४ वटा, एक वर्ष उमेर समूहका ८१ वटा र दुई वर्ष उमेर समूहका ३५ वटा अर्ना रहेको दाबीसहितको तथ्याङ्क सार्वजनिक गरिएको थियो।
अर्ना सार्ने विषयमा स्थानीयवासीको कडा आपत्ति छ नि? भन्ने प्रश्नमा आरक्षका संरक्षण अधिकृत श्यामकुमार साहले धेरैपटक स्थानीयवासी, स्थानीय प्रशासन र मध्यवर्ती क्षेत्र विकास समितिसँग बसेर छलफल र अन्तरक्रियापछि सहमति बनेको दाबी गरे।रासस