PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

यता बुट्टी, उता अनुष्का शर्मा : अपराधीका अनौठा कोडवर्ड, जुन तपाईँ अनुमानै लाउन सक्नुहुन्न



केपी ढुंगाना

यता बुट्टी, उता अनुष्का शर्मा : अपराधीका अनौठा कोडवर्ड, जुन तपाईँ अनुमानै लाउन सक्नुहुन्न

काठमाडौं : झोलामा 'माटो' बोकेर एक जना कलंकी भित्रिँदैछन्। कलैयाबाट काठमाडौं आउने यात्रुबाहक बस। उमेर अन्दाजी २८। हुलिया मधेस मूलको।
 
यही सूचना आएपछि प्रहरीको एक टोली कलंकीतिर 'मुभ' भयो। एक टोली कलंकी चोकमा, अर्को टोली छरिएर बस्छन्। सबैको ध्यान बस नम्बरमै हुन्छ।
 
प्रहरी जुन बसको प्रतीक्षामा थिए, त्यही बस कलंकीबाट स्वयम्भूतिर मोडियो। बस केही पर पुगेर 'साइड लाइट' बाल्दै सडक किनारामा रोकिन्छ। र, सादा पोसाकका प्रहरी बस नजिकै पुगेर निगरानीमा जुटिहाल्छन्।
 
बसबाट उत्रिने यात्रुको अनुहार नियालिरहेका प्रहरीको आँखा अन्दाजी २८ वर्षका युवकमा पर्छ। उनी बसबाट ‌ओर्लिएर झोला मिलाइरहेका थिए।
 
सादा पोसाकमा रहेका प्रहरीले उनलाई च्याप्प समात्दा उनी झसंग हुन्छन्। उनको झोला खोतल्दा कालो प्लाष्टिकले बेरेको ३ पोका फेला पर्छ। अनि प्रहरीले उनलाई तत्काल कोटेश्वरमा रहेको कार्यालयमा ल्याउँछ।
 
ती युवक अर्थात् मनिष साह सोनारको झोलामा कालो प्लास्टिकले बेरेको ३ पोकामा 'माटो' फेला पर्छ, ५० ग्राम तौलको। उनकै जानकारीका आधारमा प्रहरीले सुमेरविश्व पौडैल र दीलिप शाहीलाई पक्राउ गर्छ, त्यही 'माटो'को विषयमा।
 
उनीहरु ५० ग्राम 'माटो'को लागि प्रहरी हिरासतमा छन्। हो, 'माटो'कै लागि। तर त्यो 'माटो' तपाईँ हामीले सोचेको जस्तो 'माटो' थिएन। 'माटो' लागुऔषधको 'कोडवर्ड' थियो।
 
***
धन्दा सुरिक्षत राख्न नेपालका आपराधिक समूहले आ-आफ्नै शब्दकोश बनाउने गरेका छन्। हतियार कारोबारीका पनि कोड छन्। उनीहरुको शब्दकोश अनुसार घोडा भनेको बन्दुक हो, अनि गोलीको कोडवर्ड दाना।
 
लागुऔषध कारोबारीले पनि धन्दालाई सुरिक्षत गर्न र प्रहरीलाई छक्याउन आफ्नै कोडवर्ड प्रयोग गर्छन्। प्रयोगकर्ताले परिवारबाट जोगिन 'कोडवर्ड' प्रयोग गर्छन्। कोडवर्डबारे बिक्रेता र क्रेताका समूहका सदस्यमात्रै जानकार हुन्छन्।
 
माटो यस्तै एक कोडवर्ड थियो नेपालका लागुऔषध कारोबारीको।
 
प्रहरीबाट धन्दा सुरक्षित राख्न उनीहरुले हेरोइनको नाम राखेका थिए- माटो। भारतबाट नेपाल भित्र्याएर काठमाडौं ल्याइएको त्यही माटोका कारण तीन युवा पक्राउ परेका थिए बुधबार।
 
भारतीय प्रहरीले हालै गरेको खुलासा अनुसार त्यहाँका कारोबारीले फिल्मी नायिकालाई लागुऔषको कोडवर्डको रुपमा प्रयोग गर्छन्। बेलायतमा अधिकांशले कार्टुनका पात्रको नामबाट लागुऔषध धन्दा हुने गर्छ।
 
नेपालका कारोबारीले पनि धन्दाको खुलासा हुनबाट रोक्न र प्रहरीबाट जोगाउन यस्तै कोडवर्डहरु बनाएका छन्।
 
लागुऔषध नियन्त्रण ब्युरोले कारोबारीका यस्तै केही कोडवर्ड संकलन गरेको छ। ब्युरोका अनुसार धुलो, पिठो, माटोको अर्थ हो- खैरो हेरोइन। उनीहरुले सेतो हेरोइनलाई चामलको पिठो भन्छन्। खैरो हेरोइनलाई कोदोको पिठो।
 
सिरिन्जबाट प्रयोग गरिने ब्रुफिनर्फिन, डाइजेपामको कोडवर्ड हो पानी, ढुसी र सिसी। फेन्सिडिल र कोरेक्सलाई दही, रेड हनी र महका रुपमा चिनाउँछन् उनीहरु।
 
कोकिनलाई उनीहरु कोक भन्छन्। नेट्रोभेट लगायतका ट्याब्लेटलाई गोट्टी भन्छन्। नेपाली लागुऔषध बजारमा चरेस पोल्याण्ड र ब्ल्याकको रुपमा परिचित छ भने गाँजा बुट्टी र घाँसका रुपमा।
 
ब्युरोका डिआइजी जयबहादुर चन्द प्रहरीलाई झुक्याउन यस्ता समूहले लागुऔषधसँग जोडेर आफ्ना समूहका सदस्यले मात्र बुझ्ने शब्दावली बनाउने गरेको बताउँछन्।
 
लागुऔषध अनुसन्धानमा यस्ता शब्द र त्यसको अर्थ पहिल्याउन सके मात्रै अनुसन्धान अगाडि बढ्न सक्ने उनी बताउँछन्।
 
लागुऔषध अनुसन्धानमा लामो समय काम गरेका नेपाल प्रहरीका पूर्व डिआइजी हेमन्त मल्ल सामान्य शब्द प्रयोग गर्दा पोल खुल्ने जोखिम घटाउन अन्तर्राष्ट्रिय रुपमै सांकेतिक शब्दको प्रयोग हुने गरेको बताउँछन्।
 
'आफूहरुले के विषयमा कुरा गरेको हो त्यो विशेषत: सुरक्षा निकायकाले ठम्याउन नसकून् भनेर कोडवर्डको प्रयोग विश्वभरनै हुन्छन्,' मल्लले पहिलोपोस्टसित भने, 'संगठित रुपमा अपराधमा लागेकाहरुले नेपालमा पनि आफू अनुकूलका कोडवर्ड बनाएर प्रयोग गर्ने गरेका छन्।'
 
आफ्ना शब्द सार्वजनिक भएपछि तत्काल उनीहरुले परिवर्तन गरिहाल्ने मल्लले बताए। 'प्रहरीले शब्द चाल पायो भन्ने लाग्यो परिवर्तन गरिहाल्छन्,' उनले भने, 'भारतमा ड्रग्सको कोड नेम सेलिब्रिटीको नाममा राखेको सार्वजनिक भएसँगै पक्राउ नपरेका समूहका सदस्यले त्यसको प्रयोग पक्कै गर्दैनन्।'
 

बेलायतमा छन् ३ हजार शब्द

बेलायतको प्रहरीले लागुऔषध कारोबारीले प्रयोग गर्ने २ हजार ८ सय ७५ शब्द पत्ता लगाएको थियो। हेरोइनका लागि प्रयोग गर्ने शब्द नै २ सय ५० वटा छन्।
 
नर्स, ज्याक, इलाफेन्ट, ज्याक, डगफुड लगायतका शब्दको अर्थ हेरोइन हो। आन्टिम्यारीको अर्थ हो मेरिवाना (गाँजा), आन्टनोराको अर्थ कोकिन हुन्छ बेलायतको लागुऔषध बजारमा।
 
बेलायतमा पनि सेलिब्रिटीको नाम कोडवर्डका रुपमा प्रयोग हुन्छन्।
 
गाँजाको कोडका रुपमा केइथ बुसको नाम प्रयोग हुन्छ भने जेरी स्पिङ्गरको अर्थ हो हेरोइन। पार्टी ड्रग्सको रुपमा प्रयोग हुने एलएसडीको कोड नेम मिखाइल गोर्भाचोभ हो।
 
उनीहरुले कार्टुनका पात्रहरुलाई समेत लागुऔषको कोडको रुपमा प्रयोग हुने गरेको छ।
 

भारत र अमेरिकामा नयिकाको नाममा बिक्छ ड्रग्स

भारतमा लागुऔषधका ग्राहक र कारोबारीले प्रयोग गर्ने कोडवर्ड भने अलि अनौठो छ। उनीहरुले प्रहरीलाई चक्मा दिन बलिउड नगरीका चल्तीका नायक-नायिकालाई कोडवर्डको रुपमा प्रयोग गर्छन्।
 
भारतको लागुऔषध बजारमा 'रणवीर सिंह आएको छैन' भनेर कसैले भन्यो भने ऊ अभिनेता रणवीरको खोजीमा होइन लागुऔषध बिक्रेताको खोजीमा हुन्छ। बिक्रेताको कोडवर्ड हो रणवीर दिइएको छ। रणवीर कपुर क्रेताको कोड हो।
 
गाँजाको खोजीमा रहेकाहरु अनुष्का शर्माको खोजीमा हुन्छन्। भारतीय लागुऔषधको बजारमा गाँजाको कोडवर्ड हो अनुष्का।
 
कसैले आलिया भट्टको खोजी गर्‍यो भने ऊ कोकिनको खोजीमा रहेको बुझ्छन् ड्रग्स डिलरले।
 
लागुऔषध बजारमा कैट्रिना  कैफ स्मेकको कोडवर्ड हो। कंगना रणावत यानि अफिम, प्रियंका चोपडा अर्थात् एलएसडी।
 
भारतमा मात्रै होइन अमेरिकाका ड्रग डिलरले सेक्रेटकोडका लागी सेलिब्रिटीको नाम प्रयोग गर्छन् । २ वर्षअगाडि एक समुह पक्राउ परेपछि उनीहरुले गायिका ब्रिट्नी र क्रिश्टियानाको नाम हेरोइनको कोडवर्ड बनाएको खुलेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell