
काठमाडौं : आजको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई बर्खास्त गर्नुपर्ने निष्कर्ष निकालेको छ।
मन्त्रिपरिषद्को कानुनी अड्चनका बारेमा महान्यायाधिवक्ताको कार्यालयसँग छलफल गरेर बर्खास्तीको निर्णय लिइने सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्कीले जानकारी दिए।
उनलार्इ नियुक्ति गर्दा पाँच वर्षे कार्यकाल रहने प्रावधानका कारण महान्यायाधिवक्तासँग सरकारले परामर्श गर्ने भएको हो। मन्त्रिपरिषद् स्रोतका अनुसार ज्ञवालीले प्रस्तुत गरेको स्पष्टीकरण प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पेश गरेका थिए।
स्रोतका अनुसार सरकारमा सहभागी सबै दल ज्ञवालीको काम सन्तोषजनक नभएको भन्दै बर्खास्त गर्नुपर्नेमा एकमत छन्। ज्ञवालीले बुधबार स्पष्टीकरण प्रधानमन्त्री कार्यालयमा बुझाएका थिए। सरकारका प्रवक्ता कार्कीले उनको स्पष्टीकरण अध्ययनकै क्रममा रहेको बताएका छन्।
ज्ञवालीलाई केपी ओली नेतृत्वको सरकारले २०७२ पुस १० गते प्राधिकरणको कार्यकारी अधिकृतमा नियुक्त गरेको थियो।