सुरुङ्गा (झापा) : पूर्व पश्चिम राजमार्गअन्तर्गत झापाको चारपाने सडकखण्डमा आज भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा महाभरा–७ निवासी २५ वर्षीय अरुण राजवंशी र सोही ठाउँका २९ वर्षीय लोखचन राजवंशी रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी सहायक निरीक्षक याम खड्काले जानकारी दिए।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे ३ प ४७१५ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको मे १ च ३११५ नम्बरको बोलेरो कार आपसमा ठक्कर खाँदा सो दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा परी मोटरसाइकल चालक अरुणको घटनास्थलमा नै र पछाडि सवार लोखचनको उपचारका क्रममा बिर्तामोडस्थित बिएन्डसी हस्पिटलमा मृत्यु भएको हो।
दुर्घटनामा संलग्न सवारी र चालकलाई इलाका प्रहरी कार्यालय बिर्तामोडले नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक केशवकुमार थेवेले बताए।