PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

शशांक कोइरालाको तर्क- 'तीन वटा चुनाव सकेर हिन्दु राज्यका लागि जनमत संग्रह'



पहिलोपोस्ट

शशांक कोइरालाको तर्क- 'तीन वटा चुनाव सकेर हिन्दु राज्यका लागि जनमत संग्रह'

विराटनगर : नेपाली काङ्ग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले स्थानीय निकाय, प्रदेश र राष्ट्रिय निर्वाचन क्रमैसित सम्पन्न गरेर हिन्दु राज्यका लागि जनमत सङ्ग्रह गरिनुपर्ने अवधारणा अघि सारेका छन्।
 
क्रमशः चार वटा निर्वाचन गरिनुपर्ने खाका प्रस्तुत गर्दै महामन्त्री डा. कोइरालाले संविधान संशोधनको मुद्दा तत्काललाई थाती राखेर स्थानीय निकायको चुनाव गरिनुपर्नेमा जोड दिए।
 
कोइराला निवासमा बिहीबार प्रेस युनियनद्वारा आयोजित पत्रकार सम्मेलनमा उनले हिन्दु अधिराज्य कि धर्मनिरपेक्ष भन्ने विषयमा जनमत सङ्ग्रह उपयुक्त हुने बताए। ‘स्थानीय निकायको निर्वाचन पहिले सम्पन्न गरेपछि पाँच-सात महिना समय बाँकी रहन्छ,' डा.कोइरालाको भनाइ थियो, ‘यो अवधिमा हामी सीमाङ्कनको समस्या मिलाउन सक्छौँ र प्रदेशको चुनाव गर्न सक्छौँ।’
 
नेपालमा ८५ प्रतिशत हिन्दु धर्मावलम्बी भएको र अधिकांशको माग पनि हिन्दु अधिराज्य नै भएको तर्क गर्दै उनले भने, ‘मेरो निर्वाचन क्षेत्र पनि मठमन्दिरले भरिएको छ। जो पनि मसित कुरा गर्दा यो देशलाई कहिले हिन्दु राज्य बनाउनुहुन्छ भन्छन्।’
 
अमेरिका जस्तो मुलुकमा पनि संविधान निर्माण हुनेबित्तिकै २७ वटा बुँदामा संशोधन गरिएको उदाहरण पेस गर्दै कोइरालाले संविधान संशोधन हुनेबित्तिकै केही पनि नबिग्रने भनाइ राखे।
 
महामन्त्री कोइरालाले तराईमा एमालेको साख घटिसकेको चर्चा गर्दै मधेसका माग सम्बोधन गर्न नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले अग्रसरता लिएर सबैसित वार्ता गर्नुपर्ने विचार व्यक्त गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell