PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

धनगढी प्रिमियर लिगको टीम र कप्तानको घोषणा, खेलाडीको अक्सन शनिबार हुने



पहिलोपोस्ट

धनगढी प्रिमियर लिगको टीम र कप्तानको घोषणा, खेलाडीको अक्सन शनिबार हुने

काठमाडौं : धनगढी प्रिमियर लिग डीपीएल क्रिकेट प्रतियोगितामा सहभागी हुने ६ टीम, टीम मालिक र कप्तानको घोषणा भएको छ।

आयोजक सुदूर पश्चिम एकेडेमी र धनगढी क्रिकेट एकेडेमीले बिहिबार एक कार्यक्रमको आयोजना गरी टीम र कप्तानको नाम सार्वजनिक गरेको हो।

देशका विभिन्न ६ शहरलाई प्रतिनिधित्व गर्नेगरी टीमको नामाकरण गरिएको छ भने राष्ट्रिय क्रिकेट टीमका सिनियर खेलाडीहरुलाई गोलप्रथा मार्फत प्रत्येक टीमको कप्तानमा चयन गरिएको छ।

नेपाली क्रिकेटको इतिहासमै पूर्ण अक्सनको आधारमा हुन लागेको सगरमाथा सिमेन्ट डीपीएलमा सहभागी हुने टीमहरुमा सिवाईसी अत्तरिया, विराटनगर किङ्स, काठमाडौं गोल्डेन्स, रुपन्देही च्यालेन्जर्स, कञ्चनपुर आइकोनिक र टीम चौराह धनगढी रहेका छन्। चौराह गत वर्ष भएको धगढी क्रिकेट लिगको च्याम्पियन टीम पनि हो।

सिनियर छ खेलाडी छनोट गरी लक्की ड्र मार्फत हरेक टीमको कप्तान चयन गरिएको आयोजकका अध्यक्ष सुवास साहीले बताए। 

जसअनुसार राष्ट्रिय टीमका कप्तान पारस खड्काले टीम चौरहाको कप्तानी गर्नेछन् भने उपकप्तान ज्ञानेन्द्र मल्लले अत्तरियाको कप्तानी सम्हाल्नेछन्। यस्तै विरानगरको कप्तानमा शरद भेषावकर, काठमाडौंको कप्तानमा बसन्त रेग्मी, रुपन्देहीको कप्तानमा शक्ति गौचन र कञ्चनपुरको कप्तानमा विनोद भण्डारी रहेका छन्। 

यस्तै सबै टीमको टीम ओनर को ओनरको नाम पनि सार्वजनिक गरिएको छ। 

डीपीएलका लागि अन्तिम चरणमा कूल २१७ खेलाडीले आफ्नो नाम दर्ता गराएका छन्। उनीहरुलाई चार समूहमा विभाजन गरेर अक्सनका लागि राखिनेछ।

आयोजकका अनुसार प्रत्येक टीमका कप्तानले १ लाख ५० हजार पारिश्रमिक पाउनेछन्। यसबाहेक चार समूहका खेलाडीको लागि फरक फरक बेस अमाउन्ट तोकिएको छ।

अहिले राष्ट्रिय टीममा रहेका र नेपालका लागि कम्तीमा १५ अन्तर्राष्ट्रिय खेलमा प्रतिनिधित्व गरेका खेलाडीको बेस अमाउन्ट ५० हजार रहेको छ। यस्तै नेपालका लागि १५ भन्दा कम खेल खेलेका र यु १९ विश्वकप खेल्ने खेलाडीको ३० हजार, त्यसबाहेक नेपालको लागि कुनै पनि उमेर समूहमा प्रतिनिधित्व गरेका पूर्व १९ खेलाडीहरुको लागि २५ हजार बेस अमाउन्ट रहेको छ। 

यस्तै अन्तर्राष्ट्रिय स्तरमा अहिलेसम्म नेपालको जर्सी नलगाएका अनक्याप्ड प्लेअरको लागि २० हजार बेस अमाउन्ट तोकिएको छ। 

अक्सन शनिबार, एक टीमले ४ अनक्याप्ड खेलाडी राख्नुपर्ने
दर्ता भएका २१७ खेलाडीको अक्सन यही शनिबार हुनेछ। लिगमा सहभागी प्रत्येक टीमले कम्तीमा ४ जना अनक्याप्ड प्लेअर आफ्नो टीममा राख्नुपर्नेछ। यस बाहेक हरेक समूहबाट अक्सन मार्फत टीमले खेलाडीहरुमाथि पैसाको बोलि लगाउनेछन्।

दर्ता भएका मध्येबाट कुनै पनि टीममा छनोट नभएका खेलाडीको दर्ता शुल्क फिर्ता गरिने आयोजकले जनाएको छ।

कप्तान र मालिक उत्साहित
आगामी चैत ५ गतेबाट सुरु हुने प्रतियोगिताका लागि सहभागी छ वटै टीमका मालिक र कप्तानहरु उत्साहित छन्। 

सबैले पहिलो पटक हुन लागेको यस प्रकारको प्रतियोगितालाई सफल पार्न सबैजना जुट्नुपर्ने बताए। काठमाडौं गोल्डेन्सका लगानीकर्ता तथा नेपाल क्रिकेट संघका पूर्व पदाधिकारी समेत रहेको रमेश सिलवालले डीपीएललाई सफल बनाउनुपर्ने बताए। 
'सबैले जित्नुपर्छ, जित्नका लागि खेल्छौं, त्यो भन्दा पनि ठुलो कुरो यो टुर्नामेन्टले जित्नुपर्छ अनी मात्र डीपीएल सफल हुन्छ।'
'यो नयाँ मोडल हो, भविष्यमा यसलाई रोल मोडलको रुपमा स्थापित गर्नुपर्छ।'

यस्तै अत्तरियाका मालिक नर बहादुर राइले यहाँसम्म आइपुग्न आफुहरुले निकै मेहनत गरेको बताए। 'खेलाडीको भविष्य बनाउन र हौसला बढाउनका लागि हाम्रो टीम दिनरात खटेको छ।' 

विराटनगरका को ओनर प्रफुल्ल वैद्यले हरेक शहरमा यस्ता खालको टुर्नामेन्टको सुरुवात हुनुपर्ने र यस्ता खालको टुर्नामेन्टलाई निरन्तरता दिनुपर्ने बताए। 

राष्ट्रिय क्रिकेट टीमका कप्तान तथा चौराहका समेत कप्तान रहेका पारस खड्काले यदी राम्रोसँग नेपालमा प्रतियोगिता हुने हो भने नेपाली क्रिकेटमा लगानीकर्ता कुनै कमी नरहेको बताए। 'अहिलेका ओनरहरु पनि पर्सनल इन्ट्रेस्टका कारण आएका हुन्।'

'हामीहरु उत्साहित छौं, एउटा लेभल बढाएर टुर्नामेन्ट हुन लागेको छ। क्रिकेटको सबैभन्दा बढी क्रेज धनगढीमा छ। अहिले रोपेको बिउले ४/५ वर्षपछि निकै ठुलो हुनेछ।'

उनले चुनौती भनेकै आगामी दिनमा क्रिकेट कसरी अगाडी बढ्छ भन्ने रहेको बताए। 'यसले सबै क्षेत्रलाई विभिन्न अवसर दिएको छ साथै चुनौती पनि।'
'यस्ता खालको टुर्नामेन्ट विराटनगरमा हुनुपर्छ, वीरगन्जमा हुनुपर्छ, क्रिकेट नेपालभरी खेलिनुपर्छ।'

रुपन्देहीका कप्तान शक्ति गौचनले यो टुर्नामेन्ट इतिहास बन्ने बताए। 'यसले अरु टुर्नामेन्ट गर्नको लागि लेसन प्रदान गरोस्, प्रत्येक क्षेत्र र जिल्लाहरुमा पनि यस्तो टुर्नामेन्ट हुन सकोस्।'

यस्तै राष्ट्रिय टीमका प्रशिक्षक जगत टमाटाले यो एकदमै सुपर्ब आइडिया भएको बताए। 'सबै खेलाडीले प्लाटफर्म पाएका छन्, राम्रो प्रदर्शन गर्नको लागि अवसर छ।' 
'हामीसँग ९ वटा क्षेत्र छन् कम्तीमा पनि ५ वटा क्षेत्रले यस्तो खालको टुर्नामेन्ट गर्न सके अझै राम्रो हुनेछ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell