PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

डभ साइमन फिल्म स्कूल कार्यशाला नेपालमा पनि हुने



पहिलोपोस्ट

डभ साइमन फिल्म स्कूल कार्यशाला नेपालमा पनि हुने

काठमाडौं : डभ साइमन फिल्म स्कूल नेपालमा पनि संचालन हुने भएको छ। डभ साइमनको विश्व प्रसिद्द फिल्म कार्यशाला नेपालका लागि यही जनवरी २२ र २३मा हुने भएको हो। 

२० वर्ष यता ३४ देशहरुमा संचालन भएको फिल्म कार्यशालालाई द काठमाडौं अफ सिनेमा र अमेरिकी राजदूतावासले संयुक्त रुपमा आयोजना गर्ने भएको हो।

कार्यशाला अन्तर्गत डभले फिल्मको विषय, कथा लेखन, निर्माण, निर्देशन, प्रदर्शन, बजार, छायंकन, सम्पादन, बक्स अफिस आदी माथि छलफल गर्नेछन्। बिहिबार काठमाडौंमा आयोजना गरेको प्रेस सम्मेलनबिच डभले अमेरिकाबाट स्काइप मार्फत मिडिया सामु वर्कशपबारे बोलेका हुन्। 
उनले भने, 'हलिउडको फिल्म बनाउने आइडिया कलिउडसँग सेयर गर्नेछु।'

डभका अनुसार पहिलो दिन जनवरी २२ मा फिल्मको लागि कथा, निर्देशन, फिल्ममा लगानी, स्क्रिनप्ले, छायंकन, सम्पादन आदीबारे वर्कशप संचालन हुनेछ। त्यस्तै दोस्रो दिन जनवरी २३ मा फिल्म टेस्टिङ, हलिउड फिल्म निर्माण प्रक्रिया, फिल्म फेस्टिभलको महत्व, बक्स अफिसको आइडिया, फिल्म बिक्री वितरण आदि विषयमा केन्द्रित रहनेछन्।

१५० सिट सहित संचालन हुने दुई दिने फिल्म स्कूलमा इच्छुक व्यक्तीले भाग लिन पाउने छन्। विश्वमा महङ्गो फिल्म स्कूलको रुपमा प्रसिद्द डभ साइमन्स फिल्म स्कूलले नेपालका लागि भने ६ हजार रुपैंया शुल्क तोकेको छ। 

डभले भने,'कथा भए पनि नेपाली फिल्म इन्डस्ट्रीमा स्रोतको कमी छ। जसको असर फिल्मको अन्तराष्ट्रिय प्रदर्शनमा पर्छ। म नेपाली फिल्म विश्व बजारमा नपुग्नुको कारण, पुर्‍याउन सकिने माध्यम आदी माथि पनि कुरा गर्नेछु।'

फिल्म स्कूल नेपाल पर्यटन बोर्डमा संचालन हुनेछ। कार्यक्रमको मुख्य उदेश्य चलचित्रकर्मीहरुलाई सानो लगानीमा चलचित्र बनाउन प्रेरित गर्नु हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell