PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

विराटनगरको ऐतिहासिक कोइराला निवासमा यस कारण बसेनन् डा. शशांक कोइराला



पहिलोपोस्ट

विराटनगरको ऐतिहासिक कोइराला निवासमा यस कारण बसेनन् डा. शशांक कोइराला

  • अनन्तराज न्यौपाने -
विराटनगर : पार्टीको महामन्त्री निर्वाचित भएपछि रातै बस्ने गरेर पहिलो पटक विराटनगर आएका डा. शशाङ्क कोइराला ऐतिहासिक भइसकेको कोइराला निवासमा बसेनन्।

बुधबार विराटनगर आएका डा. कोइराला विराटनगर विमानस्थल नजिकैको होटल एसिया टिकमा बसे।

मोरङ काङ्ग्रेसका अधिकांश कार्यकर्ता भने शशाङ्कले कोइराला निवासमै बसेर राजनीतिक गतिविधि सञ्चालन गरून् भन्ने चाहन्थे। तर शशाङ्कका लागि कोइराला निवासमा बस्नु व्यवहारिक रुपमा अप्ठ्यारो थियो।

उनका हजुरबा पिताजी स्वर्गीय कृष्णप्रसाद कोइरालाले एक सय पचास वर्ष पहिले बनाएको घर अब त्यस परिवारको साझा घर रहेन।
त्यो घर अर्का केन्द्रीय सदस्य डा. शेखर र उनका दाजु निरञ्जनको संयुक्त भागमा परेको छ।
 
कृष्णप्रसादका कान्छा छोरा केशव र बुहारी नोनाका पुत्रद्वय डा. शेखर र निरञ्जनका भागमा परेको घरमा बस्न उनलाई अप्ठ्यारो परेको हो।

पञ्चायत कालमा नै विराटनगर छाडेका निरञ्जन लामो समयदेखि भारतको नयाँ दिल्लीमा बसेर उद्योगव्यापारमा क्रियाशील छन् ।

उनका भागमा पिताजीले बनाएको घर पर्छ। नोनाको निधनका समयमा २०६४ सालमा विराटनगर आएका उनले घरको यो भाग नभत्काउने बताएका थिए।

डा. शशाङ्क र डा. शेखर बीच राजनीतिक सम्बन्ध चिसो भएको हुँदा शशाङ्क उक्त ऐतिहासिक घरमा बस्न नआएको काङ्ग्रेसजनको भनाइ छ।

पार्टीको महाधिवेशनताका भित्रभित्रै शेरबहादुर देउवासित मिलेको, नेविसङ्घको महाधिवेशनमा आफ्नो छुट्टै बागी उम्मेदवार उठाएर पौडेलपक्षीय उम्मेदवारलाई हराएको र महिला सङ्घको महाधिवेशनमा पनि देउवापक्षीय उम्मेदवारलाई सहयोग गरेको आरोप शशाङ्क पक्षका कार्यकर्ताले डा.शेखरउपर लगाएका छन्।

डा. शेखर पक्षका कार्यकर्ता पनि शशाङ्कप्रति आक्रामक देखिन्छन्। क्रियाशीलता र क्षमताका हिसाबले महामन्त्रीमा डा. शेखर उपयुक्त भए पनि बिपी पुत्र भएर मात्र शशाङ्कलाई रामचन्द्रले रोजेको आरोप शेखरपक्षीय कार्यकर्ताको छ। साथै डा.शेखरलाई परराष्ट्र मन्त्री बन्न डा. शशाङ्कले नै रोकेको गुनासो पनि शेखरपक्षले गरेको छ।

एक–एक भाइका छोरा, दुबै डाक्टर र दुबै केन्द्रीय सदस्य रहेका यी दुई नेताको सम्बन्धमा झ्याँगिएको चिसोपनका कारण नै डा. शशाङ्क पुर्ख्यौली थलो कोइराला निवासमा नबसेको बताइन्छ।

पार्टी कार्यकर्ताले चाहिँ कोइराला निवासमा बसेर राजनीतिक गतिविधि सञ्चालन गर्न डा. शशाङ्कलाई आग्रह गरेका छन् ।

नेपाली काङ्ग्रेस मोरङ क्षेत्र नम्बर ६ का सभापति मनोज बस्नेत, पूर्व सभापति प्रेमपसाद पराजुली, नेविसङ्घका पूर्व उपसभापति शान्तनु रेग्मी लगायतका कार्यकर्ताले कोइराला निवासमा बसेर राजनीतिक भेटघाट गर्न आग्रह गरेका थिए ।

‘तपाईंमा हामी बिपीको प्रतिविम्ब देख्छौँ’, यही कोइराला निवासलाई आफ्नो थलो बनाउनूस्’, पूर्व सभापति पराजुलीले भने, ‘अबको पार्टी सभापति तपाईं नै हो, यही हिसाबले अघि बढ्नू्स् ।’

नेविसङ्घका पूर्व उपसभापति रेग्मीको भनाइ थियो, ‘कोइराला परिवारमा तपाईं मात्र अब एकमात्र आशाको केन्द्र हुनुहुन्छ ।’

धेरैले बेचे आफ्नो अंश

कोइराला निवासको परिसरमा रहेको आआफ्नो भागको जमिन सबैजसोले बेचिसकेका छन् । गिरिजाप्रसाद कोइरालाको भागमा परेको जमिनमा छोरी सुजाताले घर बनाएकी छन्।

बीपीपुत्र प्रकाश, श्रीहर्ष र डा. शशाङ्क तथा तारिणीपुत्र ज्योति कोइरालासमेतले आफ्नो भागमा परेको जमिन विक्री गरिसकेका छन् । त्यसैले उनीहरू विराटनगर आउँदा पुरानो सम्झनालाई ताजा बनाउन एक छिन कोइराला निवास पसे पनि होटलमै बस्ने गर्छन् ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell