
धनगढी : प्रथम अन्तर्राष्ट्रिय आमन्त्रित सुदुरपश्चिम खप्तड गोल्डकपको उद्घाटन खेलमा भारतको पञ्जाव फुटबल क्लब विजयी भएको छ।
कैलालीको धनगढी रंगशालामा बिहिबारबाट सुरु भएको प्रतियोगिताको पहिलो खेलमा भारतको पञ्जाव फुटबल क्लबले नेपालगन्ज ११ लाई ३–२ ले पराजित गरेको हो। जितसँगै पञ्जाव दोस्रो चरणमा प्रवेश गरेको छ।
पञ्जावको जितमा लक्कीले २ र रिमीले १ गोल गरे। नेपालगन्ज ११ का तर्फबाट विक्रम सिंह ठकुरीले एक गोल गरे भने एक गोल आत्मघाती उपहार पायो। खेलको 'म्यान अफ द म्याच' पञ्जावका गोलरक्षक गु्रजित सिंह भए।
सुदुरपश्चिम-११ फुटबल क्लबको आयोजनामा पहिलोपटक सुदूरपश्चिममा आयोजना भएको गोल्डकपको एक कार्यक्रमबीच सांसद पुष्करनाथ ओझाले उद्घाटन गरेका थिए।
माघ १ गतेसम्म चल्ने गोल्डकपमा नेपालका ए डिभिजन, नेपाल आर्मी र भारत तथा भुटानको १/१ गरी १२ टीमको सहभागीता रहेको आयोजक समितीका संयोजक सुरेश हमालले जानकारी दिए।
गोल्डकप विजेताले नगद ५ लाख र उपविजेता २ लाख ५० हजार प्राप्त गर्नेछ भने उत्कृष्ट खेलाडीलाई यामाहा मोटरसाईकल पुरस्कार व्यवस्था गरेको छ।
प्रतियोगिता अन्तर्गत शुक्रबार वेष्ट काठमाडौं र ड्रुक स्टार भुटानबीच प्रतिस्पर्धा हुनेछ।
(फोटो : सीताराम अोझा)