
काठमाडौं: अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध सर्वोच्चमा बिचाराधीन मुद्दाको बहस आज सकिदैछ। कार्कीको नियुक्ति, अदालतको अपहेलना मुद्दालाई लगाउमा राखी सर्वोच्चको सुनुवाई गरिरहेको छ। दुवै मुद्दाको सुनुवाई आजै सकिदैछ।
न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको पूर्ण इजलासमा मुद्दाको सुनुवाई जारी छ।
शुक्रवार कार्कीका कानुन व्यवसायीलाई आधा घण्टाको समय बेञ्चले निर्धारण गरेको छ। कार्कीका कानुन व्यवसायीको बहस सकिएपछि निवेदक तर्फका कानुन व्यवसायीलाई जवाफको समय दिइनेछ।
रिट निवेदक ओम प्रकाश अर्यालले निवेदकको तर्फको जवाफ लामो नभएको बताए। अर्यालले सम्भवत शुक्रवार नै अन्तिम आदेश जारी हुने बताए।
अदालतले मुद्दामा दुवै पक्षवाट झण्डै एक सय कानुन व्यवसायीको वकालतनामा भएपछि पुस ८ गते नै लिखित बहसनोट पेश गर्न भनेको थियो। बहसनोट पेश भइसकेको अवस्थामा अदालतले पुनरावलोकन माथिको संक्षिप्त राय शुक्रवार नै दिन सक्ने अदालत स्रोतको भनाई छ।
बिहीबार कार्कीका तर्फबाट वरिष्ठ अधिवक्ता महादेव यादव सुशील पन्त, सुरेन्द्र महतो तथा अधिवक्ता बावुराम कुँवरलगायतले बहस गरेका थिए। उनीहरुले कार्कीको अनुभव र योग्यता पुगेको जिकिर गरेका थिए। यस्तै, अदालतले पुनरावलोकनको आधार मानेको रायमाझी आयोगको कानुनी हैसियतमा प्रश्न गरेका थिए। आयोगको प्रतिबेदनले न्यायिक मान्यता प्राप्त नगर्ने कार्कीका कानुन व्यवसायीको जिकिर छ।
पुस ७ गते ‘लिड जज’ परिवर्तन गर्दै अदालतले कार्कीविरुद्धको मुद्दाको सुनुवाई अघि बढाएको थियो। त्यसअघि न्यायाधीश जगदीश शर्मा पौडेलले लिड गरिरहेको इजलासको जिम्मेवारी प्रधानन्यायाधीश सुशीला कार्कीले न्यायाधीश ईश्वरप्रसाद खतिवडालाई सुम्पिएकी थिइन्।