नवलपरासी : नवलपरासीमा नेपाल विद्युत् प्राधिकरण कावासोतीले विद्युत् चोरी गर्ने ८६ जनालाई नियन्त्रणमा लिएको छ । विद्युत चोरी गर्ने क्रममा विद्युतीय सामानसहित मानिसलाई समेत नियन्त्रणमा लिइएको हो।
पहिले पहिले सामान मात्र नियन्त्रणमा लिँदा जरिवाना तिर्न नआउने र पुनः चोरी गर्ने प्रवृत्ति बढेपछि प्रहरीको सहयोगमा मानिसलाई समेत नियन्त्रणमा लिन थालिएको नेपाल विद्युत् प्राधिकरण, कावासोती शाखाका प्रमुख उमेशप्रसाद यादवले बताए।
मानिसलाई नै नियन्त्रणमा लिएर जरिवाना नतिर्दासम्म नियन्त्रणमा राखेपछि चुहावटमा कमी आउनुका साथै मिटरका लागि निवेदन समेत बढेको प्रमुख यादवले जानकारी दिए।
विद्युत् कर्मचारी, जनपथ प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले टिभी, पानी तान्ने मोटर, हिटरसहित विभिन्न विद्युतीय सामग्री समेत बरामद गरेको छ।
यस आवमा मात्र कावासोती वितरण शाखाले रु एक करोड ३० लाख विद्युत् बक्यौता र रु १५ लाख विद्युत् चोरीबापत जरिवाना असुल गरेको छ। रासस