PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

नौ प्रतिपक्षीको विरोधसभा : सुरक्षामा एमालेको चिन्ता, ट्राफिक व्यवस्थापन अस्तव्यस्त बन्दै



पहिलोपोस्ट

नौ प्रतिपक्षीको विरोधसभा : सुरक्षामा एमालेको चिन्ता, ट्राफिक व्यवस्थापन अस्तव्यस्त बन्दै

काठमाडौं : संसदमा दर्ता भएको संविधान संशोधन विधेयकको विरोधमा आज राजधानीमा हुन लागेको सभा र प्रदर्शनलाई लिएर प्रमुख प्रतिपक्षी नेकपा एमालेले सुरक्षा चिन्ता व्यक्त गरेको छ।
 
यसका लागि एमालेले उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग छलफल गरेको छ भने उपत्यकाका सुरक्षा हेर्ने सशस्त्र र नेपाल प्रहरीका अधिकारीसँग पनि छलफल गरेको हो।
 
एमाले सचिव योगेश भट्टराईका अनुसार 'सुरक्षा निकायका प्रमुखले समेत सहभागिताको विषयलाई लिएर' चिन्ता व्यक्त गरेका थिए। प्रहरीहरुले पनि सुरक्षा संवेदनशीलता देखाएको उनले बताए।
 
सामाजिक सञ्जालमा एमालेको विरोधमा लेखिएका कतिपय टिप्पणीहरुमा समेत निगरानी राखिएको र विरोध र्‍यालीमा घुसपैठ हुन सक्नेमा प्रहरीले सचेतता अपनाएको जनाएको छ। एमालेले सभाका लागि ५ सय स्वयंसेवक खटाउन लागेको उनले जानकारी दिए।
 
महानगरीय प्रहरी परिसरका एसपी प्रद्युम्न कार्कीले आयोजक एमालेसँगको समन्वयमा उचित सुरक्षा अपनाइएको बताए। ‘हामीले सादा पोसाकमा पनि प्रहरी खटाएका छौँ, घुसपैठ नहोला’, उनले भने।
 

ट्राफिक जामको समस्या


प्रमुख प्रतिपक्षी एमाले सहितका ९ दलले आयोजना गर्ने जनप्रदर्शन र विरोधसभाका कारण आज राजधानीको ट्राफिक व्यवस्थानमा प्रत्यक्ष असर देखिने भएको छ।
 
राजधानीको प्रदर्शनी मार्गस्थित भृकुटीमण्डपमा ९ दलले संविधान संशोधनको विरोधमा सभा गर्न लागेका हुन्। भृकुटीमण्डपका लागि छुट्ने ललितपुर तथा भक्तपुरका सवारी साधनहरु भृकुटीमण्डप आइपुग्ने छैनन्। निजी सवारी साधनलाई पनि त्यो बाटो रोकिने छ।
 
सभाअघि र्‍यालीको रुट क्षेत्रमा समेत प्रत्यक्ष रुपमा ट्राफिकमा असर पर्ने देखिन्छ। ट्राफिक प्रहरीले पद्मोदय मोड र राष्ट्रिय सभागृहको मोड प्रयोग नगर्न सूचित गरेको छ। तर अन्य स्थानबारे खुलाएको छैन। सभाअघि विभिन्न ४० ठाउँबाट र्‍याली निकालिँदैछ।
 
एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले शुक्रबार नै पत्रकार सम्मेलनमा ट्राफिक व्यवस्थापनमा हुने समस्याका लागि माफी मागेका छन्। ‘ट्राफिक समस्या हुन सक्छ। पार्टीका तर्फबाट सबैलाइ संयम र धैर्य राख्न आग्रह गर्दछौँ', उनले भने।
 
दिउँसो १ बजे हुने सभामा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसहित, नेकपा माले, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल परिवार दल, जनमुक्ति पार्टी (लोकतान्त्रिक), मधेश समता पार्टी, नेपाः राष्ट्रिय पार्टीका नेताहरुले सम्बोधन गर्दैछन्। संविधान संशोधन प्रस्ताव फिर्ताको बटमलाइन बनाएका प्रतिपक्ष मोर्चाले काठमाडौंमा गर्न लागेको यो पहिलो विरोधसभा हो।

र्‍याली कहाँ-कहाँ?

एमाले प्रचार विभागद्वारा जारी विज्ञप्ति अनुसार सभाअघि विभिन्न ४० स्थानबाट जुलुसहरू रत्नपार्कतिर आउनेछन्। एकीकृत जुलुस रत्नपार्कबाट पुरानो बसपार्क, भद्रकाली, सहिदगेट, न्युरोड गेट, भोटाहिटी, रत्नपार्क, बागबजार, पुतलीसडक हुँदै प्रदर्शनीमार्गमा सभामा परिणत हुनेछ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell