काठमाडौं : राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई सरकारले दोस्रो पटक स्पष्टीकरण पेश गर्न पत्र पठाएको छ। केही बेरअघि उनले पत्र पाएका हुन्।
'मैले यसअघिको स्पष्टीकरणमा प्राधिकरणको समन्वयमा सम्बद्ध निकायहरुद्वारा विभिन्न प्रतिकूलता र चुनौतीका बीच गरिएका कार्यप्रगति र नतिजाको वस्तुगत अवस्था तथा आधारका साथ तोकिएको समयावधिभित्र थप स्पष्ट पार्ने नै छु,' पत्र पाएपछि उनले प्रतिक्रिया दिए।
हिजोको मन्त्रिपरिषद् बैठकमा उनको पहिलेको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै बर्खास्त गर्ने बारेमा छलफल भएको थियो। तर उनलार्इ नियुक्ति गर्दा पाँच वर्षे कार्यकाल रहने प्रावधानका कारण महान्यायाधिवक्तासँग परामर्श गरेर मात्र बर्खास्तबारे निर्णय लिने सरकारले तयारी गरेको थियो। 'तपाईंलाई पदबाट किन नहटाउने?' भन्दै ज्ञवालीलाई स्पष्टीकरण सोधिएको छ।
यसअघि पनि गएको बुधबार ज्ञवालीले स्पष्टीकरण प्रधानमन्त्री कार्यालयमा बुझाएका थिए।
ज्ञवालीलाई केपी ओली नेतृत्वको सरकारले २०७२ पुस १० गते प्राधिकरणको कार्यकारी अधिकृतमा नियुक्त गरेको थियो।