PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

'इन्ट्याग्रिटी आइडल २०१६' को उपाधि गुल्मीका प्रधानाध्यापक श्रीशलाई



पहिलोपोस्ट

'इन्ट्याग्रिटी आइडल २०१६' को उपाधि गुल्मीका प्रधानाध्यापक श्रीशलाई

काठमाडौं : इन्ट्याग्रिटी आइडल २०१६ को उपाधि गुल्मीका डोरविक्रम श्रीशले प्राप्त गरेका छन्। उनी सिद्धबाबा उच्च मावि. तम्घास-९ गुल्मीका प्रधानाध्यापक हुन्।

श्रीशले सो माविमा कक्षा १ देखिका विद्यार्थीका लागि कम्प्युटरको व्यवस्था गर्नुका साथै आठ हजारको हाराहारीमा किताब सहितको पुस्तकालय समेत व्यवस्था गरेका छन्। विजेतालाई बधाई दिँदै मुख्य सचिव सोमलाल सुवेदीले नकारात्मकताको बीचमा सकारात्मक अभ्यासको थालनी गरेकोमा आयोजक संस्थाको प्रशंसा गरे। उपाधि ग्रहण गर्दै श्रीशले आफूलाई यो सम्मानले अझ बढी जिम्मेवार बनाएको र भोलिका दिनमा थप काम गर्ने प्रेरणा मिलेको बताए।

सक्षम, इमानदार र कर्तव्यनिष्ठ एक राष्ट्रसेवक कर्मचारीलाई एकाउन्ट्याबिलिटी ल्याबले सन् २०१४ देखि हरेक वर्ष इन्ट्याग्रिटी आइडल उपाधि दिँदै आएको छ। यस पटकका लागि ६७ जिल्लाबाट ८३८ वटा मनोनयन प्राप्त भएको थियो। जसको उत्कृष्ट पाँचमा श्रीश लगायत जुम्लाका महिला तथा बालबालिका कार्यालयका महिला विकास निरीक्षक बिन्दु कुवँर, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका उपसचिव भीष्मकुमार भुषाल, भक्तपुरका प्रधानाध्यापक कृष्णप्रसाद धन्छा र धनकुटा मौनाबुधुक स्वास्थ्य चौकीका स्वास्थ्य सहायक तारा सुवेदी परेका थिए।
 
अन्तिम पाँचमध्ये सर्वोत्कृष्टको छनोट भने एसएमएस र वेबसाइटबाट प्राप्त मत र निर्णायक मण्डलको मतका आधारमा गरिएको थियो। यसमध्ये विजेजा श्रीशले सबैभन्दा बढी ४१ हजार ६ सय ४५ मत पाएका थिए।
 
सकारात्मक कुरालाई पनि अगाडि ल्याउनुपर्छ भन्ने अभियानका साथ इन्ट्याग्रिटी आइडल कार्यक्रम थालिएको आयोजक संस्थाका प्रमुख नारायण अधिकारीले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell