
काठमाडौं : नेपाल दूरसञ्चार प्राधिकरणले कर्मचारी थप गर्ने भएको छ। प्राधिकरणले 'कर्मचारीको सेवाका शर्त सम्बन्धी विनियमावली २०७३' लाई पास गर्दै नयाँ कर्मचारी थपको प्रक्रियालाई अगाडि बढाएको हो।
यससँगै २०६४ सालमा बनाइएको कर्मचारी विनियमावली विस्थापित भएको प्राधिकरणका निर्देशक पुरुषोत्तम खनालले बताए।
लोकसेवा आयोगसँग सहकार्य गरि प्राधिकरणले दुई वरिष्ठ निर्देशक सहित १७ जना कर्मचारी थप गर्न लागेको हो। विनियमावली अनुसार अब दुई जना वरिष्ठ निर्देशक पद थप हुनेछ। जसमा एक जना प्राविधिक तर्फका र अर्को प्रशासनिक सेवा तर्फका रहनेछन्।
यसैगरी सांगठनिक ढाँचामा पाँच वटा विभागको परिकल्पना गरिएको छ। जसमा दुई प्रशासनिक तीन प्राविधिक प्रस्ताव गरिएको छ। अब प्राधिकरणको सांगठनिक ढाँचामा १५ वटा शाखा हुनेछन्।
यसअघि निर्देशक स्तरसम्म मात्र दरबन्दी रहेको थियो। अब थपिएका दुर्इ वरिष्ठ निर्देशक, पाँच जना निर्देशक, १४ जना उपनिर्देशक, २७ जना सहायक निर्देशक, ११ जना सहायक प्रथम, तीन जना स्थायी चालक, करारका आठ जना र स्थायी परिचर तीन र करारका ६ जना गरी कुल ७६ जनाकाे दरबन्दी रहनेछ।
नयाँ विनियमावलीले वरिष्ठ निर्देशकको कार्यकाल पनि तोकिएको छ। अब वरिष्ठ निर्देशकको पदावधि चार वर्षको हुनेछ। सरकारले २०६८ मा संगठनात्मक संरचना स्वीकृत नगरी कर्मचारी भर्ना गर्न नपाउने निर्देशन दिएपछि प्राधिकरणमा जनशक्ति अभाव थियो ।