PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

'सडक विस्तारमा स्थानीयले अवरोध जारी राखे बजेट र कार्यक्रम नै फिर्ता'



पहिलोपोस्ट

'सडक विस्तारमा स्थानीयले अवरोध जारी राखे बजेट र कार्यक्रम नै फिर्ता'

भक्तपुर : स्थानीयवासीले सडक विस्तारमा सहयोग नगरेपछि डिभिजन सडक कार्यालय भक्तपुरबाट निर्माण एवम् विस्तार सुरु भएका अधिकांश सडक अलपत्र परेका छन्।
 
अरनिको राजमार्गस्थित मध्यपुर थिमिको चार दोबाटोबाट कोरिया नेपाल मैत्रीअस्पताल हुँदै सिद्धिकाली चोक पुरानो बाटो सडक निस्कने सडक विस्तार कार्य अलपत्र परेको छ।
 
नगर विकास आयुक्त कार्यालयले सीमाङ्कन गरेको सडक मापदण्ड मिचेर निर्माण भएका घर भत्काउन नदिँदा सडक विस्तार कार्य पूरा गर्न नपाएको सो कार्यालयले जानकारी दिएको छ।
 
कुल रु ६ करोड ६२ लाखको लागतमा एक हजार १०० मिटर लम्बाइ र ११ मिटर चौडाइका रुपमा विस्तार उक्त सडकको बीच भागमा विस्तार कार्य भए पनि सडकको दुबैतर्फको मुखमा भने सडक विस्तार हुन नसकेको कार्यालयका प्रमुख गुरुप्रसाद अधिकारीले जानकारी दिए।
 
चार दोबाटो चोक र सिद्धिकाली चोकमा मापदण्ड विपरीत रहेका ११ वटा घर र एक सरकारी विद्यालय भत्काउन नदिँदा सडक विस्तारमा समस्या आएको हो। यो सडकमा रहेको १६ वटा विद्युत्को पोल र ११ वटा नेपाल टेलिकमको पोल पटकपटक हटाउन पत्राचार गर्दा पनि नहटेपछि सडक विस्तारको काममा थप अवरोध पुगेको हो।
 
त्यसैगरी मध्यपुर थिमिकै चार दोबाटो बालकोट सडक विस्तार कार्यमा केही स्थानीयवासीले अवरोध पुर्‍याएपछि दुई वर्षदेखि रोकिएको छ ।
 
२०७१ चैत १२ गते रु एक करोड ५० लाख ७५ हजारमा विस्तार कार्य सम्पन्न गर्ने गरी ठेकेदारसँग सम्झौता भएर काम सुरु भएलगत्तै अवरोध भएपछि अहिले सडक विस्तार कार्य नै अलपत्र परेको छ।
 
रोजभिलेजबाट बालकोट हाइट, कौशल्टार सिरुटार हुँदै बालकोट चोकसम्म विस्तार हुनुपर्ने ७०० मिटर उक्त सडक विस्तार कार्य अलपत्र परेको हो।
 
सुरुमा १० मिटर चौडा सडक बनाउने गरी विस्तार सुरु गरे पनि सडकमा घर पर्ने पीडितका नाममा सर्वोच्च अदालतमा मुद्दा परेपछि रोकिएको सो सडक केही स्थानीयवासीको असहयोगकै कारण विस्तार हुनसकेको छैन।
 
स्थानीय बासिन्दासँग भएको पटकपटकको छलफलपछि १० मिटरलाई घटाएर आठ मिटर कायम गर्दै सडक चौडा गर्ने सहमति भई अदालतको मुद्दा फिर्ता लिए पनि फेरि केही व्यक्तिले विरोध गरेपछि विस्तार कार्य अगाडि बढ्न नसकेको डिभिजन सडक कार्यालयका प्रमुख अधिकारीले बताए।
 
अनन्तलिङ्गेश्वर नगरपालिकाको अगुवाइमा स्थानीय राजनीतिक दलको समेत संलग्नतामा हाल २६ फिट कायम गरेर विस्तार गर्ने अर्को सहमतिपछि फेरि ८६ घरले पीडित टोली बनाएर सडक विस्तार गर्न नदिने तयारी गरेका छन्। कार्यालय प्रमुख अधिकारीले अब पनि सडक विस्तार कार्यमा अवरोध पुर्‍याए कार्यक्रम र बजेट नै फिर्ता जाने बताए।  
 
यता मध्यपुर थिमिको बाहाखा बजारबाट बोडे हुँदै मूलपानी जाने सात किलोमिटर लामो सडक विस्तारमा समेत स्थानीयवासीले अवरोध पुर्‍याएका छन्।
 
कुल रु १० करोड ६१ लाख ६४ हजार ७०० को लागतमा तीन किलोमिटर उक्त सडक २०७५ जेठ मसान्तभित्रमा विस्तार गर्न सम्झौता भएर काम सुरु भएको थियो।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell