
काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध सर्वोच्चमा विचाराधीन मुद्दाको बहस जारी रहेपछि आज फैसला नआउने भएको छ।
कार्कीको नियुक्ति, अदालतको अपहेलना मुद्दालाई लगाउमा राखी सर्वोच्चले गरिरहेको सुनुवाइ जारी रहेको हो। कार्कीको तर्फबाट बहस सकिएको छ।
कार्कीको म्याद तामेली गर्दा अवरोध गरेर अदालतको मानहानीका आरोप लागेका पूर्वसचिव प्रमोद कार्कीको मुद्दाको बहस तन्किएपछि आज फैसला नआउने भएको हो।
न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको पूर्ण इजलासमा मुद्दाको सुनुवाइ जारी छ। अब निवेदक तर्फका कानुन व्यवसायीलाई जवाफको समय दिइनेछ।
रिट निवेदक ओमप्रकाश अर्यालले निवेदकको तर्फको जवाफ लामो नभएको बताए। मुद्दा शुक्रबार हेर्दाहेर्दैमा रहने भएपछि अब अर्को सुनुवाइ आइतबार हुनेछ।
अदालतले मुद्दामा दुवै पक्षवाट झण्डै एक सय कानुन व्यवसायीको वकालतनामा भएपछि पुस ८ गते नै लिखित बहसनोट पेश गर्न भनेको थियो।
पुस ७ गते ‘लिड जज’ परिवर्तन गर्दै अदालतले कार्कीविरुद्धको मुद्दाको सुनुवाइ अघि बढाएको थियो। त्यसअघि न्यायाधीश जगदीश शर्मा पौडेलले लिड गरिरहेको इजलासको जिम्मेवारी प्रधानन्यायाधीश सुशीला कार्कीले न्यायाधीश ईश्वरप्रसाद खतिवडालाई सुम्पिएकी थिइन्।